बाबुराम भट्टराईदेखि रेणु यादवसम्मलाई लोसपामा स्वागत छः अनिल झा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता अनिलकुमार झाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफ्नो हाराहारीको व्यक्तित्वलाई पार्टीमा देखिनसहने नेता भएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै झाले भने, “उपेन्द्रजी आफ्नो हाराहारीको व्यक्तित्वलाई पार्टीमा देखिसहनुहुन्न । त्यसैले उहाँको प्रतिस्पर्धी अटाउन गाह्रो छ । हामीले जसपामा हुँदै उपेन्द्रजीबाहेकको राजनीति अघि बढाउनुपर्ने कुरा साथीहरुलाई पटकपटक राखेका थियौं । त्यस बेला उहाँहरुले बेवास्ता गर्नुभयो । अहिले बाबुराम भट्टराईदेखि रेणु यादवसम्मले त्यो कुरा महसुस गरिरहनुभएको छ भने लोसपामा स्वागत गछौं ।”
आगामी संघ र प्रदेशको निर्वाचनमा जसपा कमजोर हुने र लोसपाको शक्ति पुनः आर्जन हुने पनि नेता झाले दाबी गरे । उनले थपे, “स्थानीय तहमा जसपाको लोसपाभन्दा धेरै सिट आयो । किनभने पार्टी विभाजनमा हाम्रा कतिपय साथी उतै रहनुभयो । त्यो समयक्रममा रिकभर हुन्छ ।” उनले लोसपालाई आफ्नै बलबुतामा चलाउने सबै काम छाडेर गठबन्धन भन्दै अहोरात्र नलाग्ने जिकिर पनि गरे ।
लोसपा नेता झाले देशका कतिपय नेताहरुले मधेसीलाई करदाता र मतदाता मात्र ठानिरहेको आरोप पनि लगाए । उनले भने, “कतिपय नेताहरु नागरिकताको विषय आउनासाथ त्यो मधेसीको मात्र मुद्दा हो भन्ने ठान्छन् । मधेसीलाई नागरिक मान्दैनन् । करदाता र मतदाता मात्र ठान्छन् । नागरिकता बाँड्दा मधेसीले मात्र लाभ लिन्छन् भन्ने डर मानेर विरोध गर्छन् । अहिलेको विधेयकले त मधेसीले भन्दा अरुले लाभ लिन्छन् ।”
नेकपा एमालेका नेता भीम रावलले त नागरिकता विधेयकको विरोध गरिरहनुभएको छ नि भन्ने प्रश्नमा झाले भने, “भीम रावलको राष्ट्रवादबारे मेरो कुनै टिकाटिप्पणी छैन । तर उहाँको पुख्र्यौली थलो रावलपिण्डी हो । त्यो रावलपिण्डी पाकिस्तानमा पर्छ । मेरो घरमा बुहारी आइसकेकी छन् । हामीले बुहारीलाई विश्वास गर्नुपर्छ । उनीहरु ससुरालीप्रति नै समर्पित हुन्छन् । उनीहरुबाटै वंश चल्छ । उनीहरुको अपमान नगरौं । गँजडीहरुले मात्र बुहारीहरुलाई रअ, सीआईए, केजीबीको एजेन्ट देख्छन् । बुहारीहरुले माइती देशका लागि जासुसी गर्दैनन् । चन्द्र सूर्य रहुन्जेल नेपाल रहन्छ । देश बेच्ने काम बुहारीहरुले होइन ठूलाबडाले नै गर्छन् ।”
भारतीय चेलीले डोलीभित्र बम बारुद लिएर नआउने पनि उनले बताए । झाले भने, “मेरी हजुरआमा मैथिलीभाषी भारतीय चेली हुनुहुन्थ्यो । तर उहाँले माइती देशको भाषा बिर्सनुभएको थियो । छोरीचेलीले डोलीभित्र बम बारुद होइन, माया, स्नेह र ममता लिएर आउँछन् । राजा त्रिभुवनले भारतमा बिहे गर्नुभयो । महारानीले नेपाललाई माइती देशमा मिसाउनु त भएन नि ?”
अर्को प्रसंगमा लोसपा नेता झाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको भ्रमणमा जानु सकारात्मक भएको टिप्पणी गरे । उनले भने, “भारतमा चार धाम छन्, गंगा, जमुना, सरस्वती छन् । प्रचण्डलाई भारत जाने छुट छ । संस्कृतका किताबमा आगो बाल्ने प्रचण्ड भारतीय जनता पार्टीको निम्तोमा जानु राम्रो कुरा हो । उहाँ युटर्न लिन सक्ने, क्रमभंग, छलाङ लगाउन सक्ने नेता हो । भारतसित सम्बन्ध विस्तारमा लाग्नु राम्रै कुरा हो ।”


