२१ बैशाख २०८३, सोमबार

संसदमै हेट स्पिच (घृणा फैलाउने अभिव्यक्ति) दिएको भन्दै कारबाहीको माग – सांसद गिरी

एसीपी संवाददाता

२५ जेष्ठ २०७७, आईतवार ०६:५९ मा प्रकाशित

चीनको इशारामा त एक भारतीय चेलीमाथि आरोप लगाइएको होइन ?’

सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले आफ्नो विषयमा संसदमै हेट स्पिच (घृणा फैलाउने अभिव्यक्ति) दिएको भन्दै कारबाहीको माग गरेकी छन् ।

शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले त्यो अभिव्यक्ति आफूमाथि नभई संसदीय मर्यादामाथि कै आक्रमण भएको बताइन् । उनले भनेकी छन्, ‘नेपालको कानुन अनुसार यो हेट स्पिच कानुनी करबाहीका लागि पर्याप्त हुन्छ । र, म गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु कि यसलाई रेकर्डमा लिएर प्रक्रिया अगाडि बढाइयोस् ।’

सांसद गंगा चौधरीको नाम नलिई उनले १९ जेठको त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरिन् । संसदमा जासुसको आरोप लगाउँछ, दादागिरीको कुरा गरिन्छ भने यो कुनै व्यक्तिमाथि मात्र होइन, संसदमाथि कै आक्रमण हो, उनले भनिन् ।

चौधरीले भारतीय चेलीले नेपालको संसदमा आएर दादागिरी गरेको र पदको मर्यादा नभएको भए भौतिक रुपमा अक्रमण गर्न सक्ने बताएको उनले बताइन् ।

सांसद गिरीले भने आफूले नेपाल भारतबीच संवाद अगाडि बढाइयोस् भन्दा केही सञ्चार मध्यामहरुले भारतलाई नसोधी नक्सा बनाएको भनेर प्रचार गरेको र नेकपा सांसदले त्यही समाचार पढेर धारणा व्यक्त गरेको बताइन् ।

सांसद गिरीले आफूलाई भारतीय दलाल भनेकोमा आपत्ति मात्र जनाइनन्, सांसद चौधरीमाथि पनि प्रश्न उठाइन् ।

चौधरीका पति दाङको राप्ती गाउँपालिकामा चुनाव लड्दा भारु बाँडेको र गाउँलेले समात्दा यो भारु त चीनको तर्फबाट बाँडेको भनेको दाबी गर्दै उनले भनिन्, ‘कुनै ठूलो शक्तिको आड विना कसरी आरोप लगाइयो ? कतै उत्तरी छिमेकी चीनको इशारामा त एक भारतीय चेलीमाथि आरोप लगाइएको होइन ?’

भारतीय चेली (आफू)लाई कसैले चाँदीको चम्चामा राखेर सभासद पद नदिएको उनले बताइन् । ‘नेपालको कानुनअनुसार आएको हुँ’ भन्दै उनले इतिहासको जानकारी छैन भने आफूसँग लिन र कार्यकर्तालाई प्रशिक्षत गर्न नेकपा नेताहरुलाई आग्रह गरिन् ।

समाजवादी पार्टीकी अर्की सांसद अमृतादेवी अग्रहरीले पनि सांसद चौधरीको भनाइप्रति आपत्ति प्रकट गरिन् ।

उनले आफूहरुले हिन्दीमै सपथ लिएको र सजिलोका लागि हिन्दीमा बोल्ने गरेको बताइन् । हिन्दी बोल्दैमा भारतीय नहुने र अंग्रेजी बोल्दैमा वेलायती नहुने उनले तर्क गरिन् ।

त्यसपछि सभामुखले सदनको कारबाहीलाई अगाडि बढाउन खोज्दा समाजवादी पार्टीका सांसदहरुले उठेर विरोध गरे । उनीहरुले गंगा चौधरीको भनाई रेकर्डबाट हटाउनुपर्ने र कारबाही गर्नुपर्ने बताए । उनीहरुले बोल्दा बोल्दै माइक काटिएको पनि विरोध गरे ।

सभामुखले ३ मिनेछमा २ मिनेट समय थपेर ५ मिनेट पुगेपछि माइक काटिएको उल्लेख गर्दै यस विषयमा पछि उपयुक्त समयमा बसेर छलफल गर्ने बताएपछि समाजवादीका सांसदहरु बसे । सभार – समाचार इकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x