१२ मंसिर २०८३, शुक्रबार

ताइवानलाई गाभेर ‘पुनर्एकीकरण’ , गर्ने चिनियाँ धम्की

एसीपी संवाददाता

२६ श्रावण २०७९, बिहीबार ०७:३८ मा प्रकाशित

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि अहिले दुई देशबीच तनाव सिर्जना भएको छ। यो मामिलामा विश्व शक्ति राष्ट्रहरू एकअर्कामा बाँडिएका छन्। केही देशहरूले ‘एक चीन नीति’मा प्रतिवद्धता दोहोर्‌याएका छन्।

यही मुद्दामा चीन र अमेरिकाबीच वाक युद्ध चलिरहँदा ताइवानलाई तर्साउनका लागि चीनले वरिपरी कडा सैन्य अभ्यास र क्षेप्यास्त्र प्रहार गरिरहेको छ। ताइवानले यसलाई ‘युद्ध’को संकेत भएको बताएको छ।

‘विश्वमा हाम्रो एउटामात्रै चीन छ र ताइवान चिनको एउटा हिस्सा हो’ स्वेतपत्रमा भनिएको छ ‘इतिहास र कानुनले समेत यो तथ्यलाई स्विकार गरिसकेको छ कि ताइवान कहिल्यै पनि एउटा छुट्टै राष्ट्र भएको छैन। र उसको हैसियत चीनकै एक भूभागका रुपमा हमेसा रहनेछ।’

‘नयाँ युगमा ताइवानमाथिका प्रश्नहरू र चीनको पुनरेकीकरण’ शीर्षकमा प्रकाशित यो स्वेतपत्रमा चीनले ताइवानको ‘हैसियत’ चीनको एक हिस्साका रूपमा कहिल्यै परिवर्तन नहुने पनि स्पष्ट पारेको छ।

‘अब पूर्ण राष्ट्रिय पुनरेकीकरणका लागि हामी धेरै नजिक पुगिसकेका छौं। यो लक्ष्यका लागि हामी कहिल्यै पनि यसरी विश्वस्त र सक्षम भएर यति छिट्टै अघि बढ्छौं भन्ने लागेको थिएन’ स्वेतपत्रमा भनिएको छ ‘त्यसका लागि हामीसँग पूरा अनुभव छ। चिनियाँ राष्ट्रको इतिहास र संस्कृति यस्तै कुराहरूबाट प्रेरित छ।’

यसअघि पनि चीनले ताइवान मामिलामा १९९३ र २०००मा समेत यस्तै स्वेतपत्र जारी गरेको थियो।

यो तेस्रो स्वेतपत्रले पनि एकपटक शान्तिपूर्ण पुनरेकीकरण तथा ‘एक राष्ट्र, दुई प्रणाली’लाई दोहोर्‌याएको छ।

‘मुख्य भूमि’ चीन र ताइवानबीचको सामाजिक र सांस्कृतिक भिन्नताले त्यो पुनरेकीकरणमाथि कुनै पनि प्रकारको बाधा र पृथकीकरणलाई बढवा दिनेखालको हुन नसक्ने पनि स्वेतपत्रमा दाबी गरिएको छ।

‘शान्तिपूर्ण पुनरेकीकरणका उज्याला सम्भावनाहरू’ शीर्षकमा स्वेतपत्रको पाँचौ अध्यायमा चारवटा विभिन्न आलेखहरू छन्। जसमा ताइवानलाई गाभेर चीनको पुनरेकीकरण गर्नेबारेमा धेरै ब्याख्याहरू गरिएका छन्।

 

अमेरिकाले ताइवानका केही पृथकतावादीहरूलाई उक्साएको र ताइवानलाई प्रयोग गरेर चीनको शक्ति नियन्त्रण गर्ने असफल प्रयास गरिरहेको भन्दै स्वेतपत्रमार्फत चीनले त्यस्ता ‘पृथकतावादी’ र ‘बाह्यशक्ति’ भन्दै अमेरिकालाई पनि कडा चेतावनी दिएको छ।

‘यसबाट ताइवानका पृथकतावादीहरूलाई पनि केही फाइदा हुनेछैन। इतिहासका चक्रहरू अब राष्ट्रिय पुनरेकीकरणतिर अघि बढिसकेका छन्। र यसलाई संसारका कुनै व्यक्ति वा शक्तिले रोक्न सक्नेछैन’ स्वतपत्रमा भनिएको छ ‘हामी शान्तिपूर्ण पुनरेकीकरणका लागि मार्ग प्रशस्त गर्न चाहन्छौं। तर त्यसमा पृथकतावादीहरूलाई कुनै पनि स्थान हुने छैन। इतिहासको यो सबैभन्दा ठूलो काम हामीले पूरा गरेरै छोड्नेछौं।’

इस्टिच्यूट अफ ताइवान स्टडिजका एकजना ताइवान मामिला विज्ञ झु गुइलानका अनुसार चीनले यो स्वेत पत्र एउटा निकै रणनीतिक र महत्वपूर्ण समयमा सार्वजनिक गरेको छ। यसले चिनियाँ कम्युनिस्ट पार्टीको आगामी २० औं राष्ट्रिय सम्मेलनको मुख्य मुद्दा र बितेको दशकमा चीन कसरी आर्थिक र सैन्य क्षेत्रमा विश्व शक्तिको रूपमा उदाउँदैछ भनेर व्याख्या पनि गरेको छ।

‘यो अमेरिका र ताइवानका पृथकतावादीहरूलाई चीनको कडा सन्देश हो’ स्वेतपत्रबारे उनले भनेका छन्।

दक्षिणपूर्वी चीनको एउटा तटीय क्षेत्रदेखि करिब १०० माइलको दूरीमा रहेको एउटा टापु देश हो ताइवान। दोस्रो विश्वयुद्ध पछि चीनसँग अलग भएको ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र ठान्छ तर चीनले उसलाई आफ्नो भूभागको एक हिस्सामात्रै मानेको छ।

छुट्टै राष्ट्रका रूपमा चीनले ताइवानलाई मान्यता दिएको छैन। अमेरिकालगायत विश्वका १३ देशले उससँग छुट्टै राष्ट्रका रूपमा सम्बन्ध स्थापित गरेका छन्।

अमेरिका तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी गत साता ताइवानको भूमिमा ओर्लिएपछि अहिले चीन र ताइवानबीच तनाव सुरू भएको हो।

‘रोक्दा-रोक्दै’ भएको भ्रमण भनेर अमेरिकी राष्ट्रपति जो बाइडेनले सामान्य प्रतिक्रिया दिए पनि त्यसलाई चीनले ‘ताइवानलाई उक्साउने र चीनलाई चिढाउने’ रणनीतिका रूपमा लिएको छ।

बाइडेन प्रशासनले पेलोसीको त्यो भ्रमणलाई आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै पन्छिन खोजेको छ।

तर चीनले भने त्यसपछि ताइवानलाई झन तर्साउन खोजेको छ र उसको छेउमै भयङ्कर सैन्य अभ्यास थालेको छ। क्षेप्यास्त्र हान्नेदेखि सैन्य अभ्यासलाई अझ तीब्र बनाएको चीनको यो रणनीतिलाई ताइवानले भने ‘आक्रमण’कै अभ्यास भनेको छ।

ग्लाेबल टाइम्सबाट

 

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x