कतार च्यारेटी नेपालको सहयोगमा युनेस्को क्लबद्धारा करोड बढीको स्वास्थ्य सामाग्री प्रदान

१८ असार २०७७, बिहीबार – कतार च्यारेटी नेपालको सहयोगमा बाँके युनेस्को क्लबले करोड बढीको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोभिड महामारी विरुद्धको अभियानलाई सफल पार्ने उद्देश्यले युनेस्कोले कतार च्यारेटीको सहयोगमा बाँके र बर्दिया जिल्लालाई करोड बढीको स्वास्थ्य सामाग्री प्रदान गरेको हो । कतार च्यारेटीबाट प्राप्त भएको १ करोड ६ लाख ६ हजार ४ सय ४५ रुपियाँ बराबरको सो स्वास्थ्य सामाग्री बाँके र बर्दिया दुबै जिल्लाका जिल्ला विपद व्यवस्थापन समिति र ४ वटा क्वारेन्टाइनलाई हस्तान्तरण गर्न शुरु गरिएको हो ।

सो क्रममा बुधवार बाँके र बर्दियाका विपद व्यवस्थापन समितीलाई ३०–३० थान सेट पीपीई र ३–३ थान थर्मल गन हस्तान्तरण गरिएको क्लबका निर्देशक रबि तुलाधरले बताउनु भयो । युनेस्कोका अध्यक्ष राजेन्द्र चौधरीले जिल्ला विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवं बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगलाई ३० थान पीपीई र ३ थान थर्मल गन हस्तान्तरण गर्नुभएको थियो । बर्दिया जिल्ला विपद व्यवस्थापन समितिलाई पनि बुधवारनै ३० वटा पीपीई र ३ वटा थर्मल गन हस्तान्तरण गरिएको छ ।

यो बाहेक बाँकेका २० र बर्दियाका २० वटा क्वारेन्टाइनलाई पनि हरेक क्वारेन्टाइनमा ५ वटा सेट पीपीई, अस्थाई शौचालय, हात धुने स्टेशन, हाइनिज किट र डिग्नीटी किट, सरसफाइको सामाग्री तथा बाल्टी र मग उपलब्ध गराईएको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनु भयो । कोभिड १९ विरुद्धको अभियानमा पनि निरन्तर सहयोग गरिरहको कतार च्यारेटीका प्रोजेक्ट म्यानेजर ईरशाद अली शेखले बताउनु भयोे ।


