चिनियाँ रिमोट कन्ट्रोलबाट चल्ने गणतन्त्र नेपालको हित नगर्ने -कमल थापा
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद बढ्दै जाँदा उत्तरी छिमेकी चीनकी राजदूत होउ यान्छी सक्रिय भएकी छन्। राजदूत यान्छीले नेकपाको विवादमा जोडिएका तीन नेतामध्ये एक माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेर आइतवार राति भेटेकी छन्। भेटका क्रममा दुई देशबीचको सम्बन्ध मजबुत बनाउनेसहितका विषयमा कुरा भएको नेता नेपालको सचिवालयले जनाएको छ। तर नेकपाको पछिल्लो विवादका प्रमुख पात्रमध्ये एक नेपालसँगको यान्छीको भेटलाई अर्थपूर्ण मानिएको छ। यस्तोमा यो भेटलाई लिएर विभिन्न प्रतिक्रियाहरू आइरहेका छन्। यसबारेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रिमोट कन्ट्रोलबाट चल्ने गणतन्त्रले नेपालको हित नगर्ने बताएका छन्।

उनले भारतीय राजदूत सरकार ढाल्न सक्रिय भएको आरोप लगाउने नेकपा नेतृत्व र सरकारले त्यही सरकार बचाउन चिनियाँ राजदूतको सहारमा मागेको भन्दै कटाक्ष गरेका छन्। ‘प्रधानमन्त्री ओली भन्नुहुन्छ, सरकार गिराउन भारतीय राजदूत सक्रिय भए। अर्कोतर्फ चिनियाँ राजदूत सरकार बचाउन नेताहरुको घर पुग्छिन्। के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ? राष्ट्रियता जोगाउन सक्छ?’, ‘, उनले प्रश्न गरेका छन्, ‘स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन।’ उनले विगतका गल्तीबाट पाठ सिकेर विदेश हस्तक्षेप नहुने राष्ट्रियता र प्रजातन्त्र विकासमा लानुपर्नेमा जोड दिएका छन्। ‘पूर्वाग्रहबाट माथि उठौँ। विगतमा सबैबाट गल्ती भएका छन्। गल्तीबाट पाठ सिकौँ, आत्मालोचना गरौं’, उनले अगाडि भनेका छन्, ‘बाह्य हस्तक्षेपबिना राष्ट्रियता र प्रजातन्त्र बलियो हुने नेपाली परिवेश अनुकूल मौलिक प्रजातन्त्रको निर्माण गरौं। कसैले जित्ने, कसैले हार्ने होइन, सबै नेपालीले जित्ने व्यवस्था स्थापित गरौं।’ सभार थाहाखबर



