५ असार २०८३, शुक्रबार

एक सय २० दिने लकडाउनको समीक्षा गरिनुपर्ने कांग्रेसको माँग

एसीपी संवाददाता

८ श्रावण २०७७, बिहीबार १४:४१ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एक सय २० दिने लकडाउनको समीक्षा गरिनुपर्ने बताएको छ।

कोरोनाभाइरस संक्रमित २० हजार पुग्न लागेका बेला लकडाउन खुला गर्न सकिन्छ भने दुई जना मात्रै संक्रमित भएका बेला किन लकडाउन गरियो? भन्ने समीक्षा गर्नुपर्ने कांग्रेसले बताएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटरमार्फत् प्रश्न राख्दै लकडाउन गरेर सही वा गल्ती के गरियो? समीक्षा हुनुपर्ने माग राखेका हुन्।

‘लकडाउन र खुला, हिजो गल्ती कि आज?,’ शर्माको प्रश्न छ, ‘लकडाउन गर्दा सबैले सरकारलाई सघायौं। फरक मत राखेनौं। प्रधानमन्त्रीज्यू अब समीक्षा गरौं। संक्रमित २० हजार पुग्न लाग्दा खुला गर्न सकिन्छ भने संक्रमित केवल दुई हुँदा लकडाउन गरेर हामीले सही गरेका रहेछौं कि गल्ती?’

उनले लकडाउनपछि एक सय २० दिनका उपलब्धि र क्षतिबारे समीक्षा हुनुपर्ने बताएका हुन्। सरकारले चैत ११ देखि लागू गरेको लकडाउन मंगलबारदेखि अन्त्य भएको बताएको छ।

‘सत्तारूढ पार्टीका प्रवक्ताले उपलब्धि राख्नुहोला- स्वास्थ्य सामग्री अपर्याप्त, खरिदमा भ्रष्टाचार। मरेपछि पिसिआर। क्वारेन्टिनमा मृत्यु, आत्महत्या र बलात्कार। अर्थतन्त्रमा अर्बौंको क्षति, हात लाग्यो शून्य,’ प्रवक्ता शर्माले भनेका छन्।

कोरोनाका नाममा लकडाउन गरेर सत्ता संघर्ष गरिएको पनि उनले आरोप लगाए।

‘कोरोनाका नाममा लकडाउन, सत्ता संघर्ष बढी,’ उनले भने, ‘दुई विवादास्पद अध्यादेश। एउटा दल फुटाउने षड्यन्त्र। सांसदको अपहरण मुद्दा।’

यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद अभिव्यक्तिसमेत दिएको शर्माले बताएका छन्।

‘विवादास्पद अभिव्यक्तिहरू, राष्ट्रपति संस्थाको दुरूपयोग। जनता मर्नु मरिरहे, संक्रमण बढ्नु बढिरह्यो। कमरेडहरूको सत्ताद्वन्द्व चलिरह्यो,’ उनले भने।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x