काठमाडौं महानगरपालिकाले अनधिकृत होर्डिङ बोर्ड हटाउन शुरु
काठमाडौं : काठमाडौं महानगरपालिकाले सहरमा व्यावसायिक पहिचानका लागि राखिएका अनधिकृत होर्डिङ बोर्ड हटाउन थालेको छ। सोमवारदेखि महानगर प्रहरीको नेतृत्वमा टोली बनाएर त्यस्ता बोर्ड हटाउन थालेको हो। पहिलो दिन गौशाला, कालिमाटी, महाराजगंज, पुतलीसडक लगायतका स्थानबाट २७५ वटा त्यस्तो बोर्ड हटाएको छ।
दोस्रो दिन महानगरको टोलीले बानेश्वर लगायतका स्थानबाट २६० वटा हटाएको छ। महानगरले यसलाई निरन्तरता दिएको छ। महानगरले ३० दिने सूचना नै दिएर त्यस्ता बोर्डहरु हटाइरहेको हो। महानगरले मापदण्डविपरीत र अनुमतिविना राखिएका त्यस्ता बोर्डहरु हटाउने अभियान नै चलाएको छ।
अहिले नै किन हटाईदैछ त्यस्ता बोर्ड?
महानगर राजस्व विभाग प्रमुख शिवराज अधिकारीले सूचना दिएपछि पनि अटेर गरेकाले अभियानकै रुपमा हटाउन थालिएको बताए।
‘हामीले ३० दिने सूचना दिएका थियौं। त्यसपछि पनि १५/२० दिन पर्खियौं’, उनले भने, ‘उहाँहरु आउनु भएन। महानगरपालिकाको स्वीकृति नलिई राख्न पाइँदैन। त्यही भएर हामीले हटाउन थालेका हौं।’
महानगरले असोज ७ गते ३० दिने सार्वजनिक सूचना जारी गरेर परिचय पाटीहरु मापदण्डअनुसार नियमित गर्न सूचित गरेको थियो। अधिकारीका अनुसार अधिकांश त्यस्ता परिचय पार्टीहरु अनधिकृतरूपमा राखिएका छन्।
‘बोर्ड नै नराखी पनि व्यवसाय गर्न मिल्छ। जथाभावी राखिएको छ। एकातिर हाम्रो रेभिन्यु गुमेको छ भने अर्कातिर सहर फोहोर देखिएको छ’, उनले भने, ‘५ प्रतिशतले पनि अनुमति लिएर बोर्ड राखेका छैनन्।’
उनका अनुसार महानगर क्षेत्रभित्र साढे दुई लाख व्यवसाय रहेको अनुमान छ। तर, महानगरपालिकाबाट करिब ७५ हजारले मात्रै अनुमति लिएका छन्।
‘धेरैले व्यवसाय नै दर्ता गरेका छैनन्। हाम्रो यो अभियानले एकातिर व्यवसाय कर नतिर्नेहरुलाई पनि तिर्नुपर्छ भन्ने सूचना हुनेछ’, उनले भने , ‘अर्कातिर राजस्व बढ्छ। सहर पनि सफा हुन्छ।’


