वीपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस द्धारा बागेश्वरी पार्कमा बृक्षारोपण

वीपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र न. २ बाँकेले नेपालगन्ज–२ स्थित बागेश्वरी पार्कमा बृक्षारोपण गरेको छ ।
नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, प्रदेश पाँचका सांसद तथा काँग्रेस सचेतक सुरेन्द्र हमाल, प्रदेश पाँचका सांसद याकुव अन्सारी, महाधिबेशन प्रतिनिधी लक्ष्मीनारायण शाह लगायतले बृक्षारोपण गर्नुभएको थियो ।

बृक्षारोपण अघि आयोजित औपचारिक कार्यक्रममा बोल्ने सहभागी नेताहरुले वीपी कोइरालाको समाजवादको सिद्धान्तलाई काँग्रेसीहरुले विर्सिदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

क्षेत्र न. २ का सभापति रमेश कुमार गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रदेश पाँचका सांसद तथा काँग्रेस सचेतक सुरेन्द्र हमालले वीपीको आर्दशलाई सबै नेता तथा कार्यकर्ताहरुले स्मरण गर्नुपर्ने धारणा राख्नुभयो । वर्तमान अवस्थामा वीपीको आर्दशलाई प्रत्येक काँग्रेसीहरुले आत्मसाथ गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनु भएको छ । उहाँले पार्टी एकताका लागि स्थानीय तहदेखि नै पहल थाल्नुको विकल्प नभएको बताउनुभयो । नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले वीपीको विचार र चिन्तनलाई सबैले पालना गर्ने हो भने पार्टी एक भएर अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

महाधिबेशन प्रतिनिधी लक्ष्मीनारायण शाहले बिपी कोईरालाले सिखाएको बाटोमा हिड्दै सबै एक भएर अगाडि बढे नेपाली कांग्रेस जनताको पार्टी हुने धारणा राख्नुभयो । त्यस्तै तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहले पार्टीमा रहेको मत भिन्नतालाई त्याग्दै कांग्रेस एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले पार्टी एक भएमात्र वर्तमान सरकारका गलत कदमहरुको प्रतिवाद गर्न सकिने बताउनु भयो । कार्यक्रममा प्रदेश सांसद याकुव अन्सारी, पुर्ब सभासद मैकुलाल बाल्मीकि, बादशाह कुर्मी, राजकुमार वर्मा, क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, नेपाल महिला संघका अध्यक्ष नारायणी रुपाखेतीलगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।



