१२ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओली र अर्का अध्यक्ष ‘प्रचण्ड’ बीच सोमबारको छलफल विना निष्कर्ष टुंगियो

एसीपी संवाददाता

१९ श्रावण २०७७, सोमबार ०७:२५ मा प्रकाशित

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सोमबारको छलफल विनानिष्कर्ष टुंगिएको छ ।

विवाद समाधानको प्रस्तावमा छलफलका लागि केन्द्रीय सचिवालय बैठक बोलाउने कि स्थायी कमिटी बैठकलाई सुचारु गरेर निष्कर्ष निकाल्ने भन्ने विषयमा कुरा नमिलेपछि ओली र प्रचण्डको पछिल्लो छलफल पनि विनानिष्कर्ष टुंगिएको हो ।

ओलीले सचिवालयबाटै प्रस्ताव तयार भएपछि मात्र स्थायी कमिटी बोलाउनुपर्ने अडान राखेका छन् भने प्रचण्डले स्थायी कमिटी बैठकमा निर्धारित एजेन्डाबाटै सहमति खोज्नुपर्नेमा जोड गरेको स्रोतले जनाएको छ । 

दुवैतर्फबाट अडान यथावत् रहेपछि मंगलबार पुनः बस्नेगरी छलफल विनानिष्कर्ष टुंगिएको छलफलमा सहभागी एक नेताले बताए । 

छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए ।

‘नयाँ केही सहमति भएन, सुरुमै जनैपूर्णिमाको शुभकामना आदान–प्रदान भयो, त्यसपछिको छलफलमा उहाँ (प्रधानमन्त्री)ले पहिले सचिवालय बैठक बोलाएर सहमतिको प्रस्तावबारे छलफल गरौँ भन्ने अडान राख्नुभो, प्रचण्डले स्थायी कमिटी सुचारु गरेर त्यहीँबाट हल गरेर जाऔँ भन्ने आइतबारकै तर्कमा जोड दिनुभयो,’ छलफलमा सहभागी एक नेताले नयाँ पत्रिकासँग भने ।

गत १३ साउनमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहुमत स्थायी कमिटी सदस्यहरूको बैठक गरेपछि नेकपाभित्रको अन्तर्संघर्ष उत्कर्षमा पुगेको थियो । 

उनीहरूले प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छोड्नुपर्ने माग राख्दै आएका छन् । तर, ओलीले दुवै पद नछोड्ने अडान राख्दै बाँकी विषयमा सहमति खोजेर जान सकिने प्रस्ताव गर्दै आएका छन् । 

दुवै पक्षको अडान कायमै रहेका कारण जटिल मोडमा पुगेको नेकपाभित्रको अन्तर्संघर्ष समाधानतर्फ जाने संकेत देखा परिसकेको छैन । श्रोत – नयाँ पत्रिका

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x