१२ असार २०८३, शुक्रबार

दुई अन्तरिक्षयात्रीहरूले पश्चिमी फ्लोरिडाको पेन्साकोलाको तटको दक्षिण तर्फ रहेको गल्फ अफ मेक्सिकोमा अवतरण

एसीपी संवाददाता

१९ श्रावण २०७७, सोमबार ०८:०९ मा प्रकाशित

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेका दुई जना अन्तरिक्षयात्रीहरू बब बेन्कन र डग हर्ली पृथ्वीमा फर्किएका छन्।

स्पेस एक्स ड्रयागन क्याप्स्यूल नाम गरेको अन्तरिक्ष यानबाट फर्केका ती दुई अन्तरिक्षयात्रीहरूले पश्चिमी फ्लोरिडाको पेन्साकोलाको तटको दक्षिण तर्फ रहेको गल्फ अफ मेक्सिकोमा अवतरण गरेका थिए।

लगत्तै उनीहरूलाई त्यसबाट निकाल्न उद्धारका लागि तयार पारिएको पानीजहाज पुगेको थियो।

यो ४५ वर्षअघि अपोलो कमान्ड मोड्युलको अन्तिम अवतरणपछि पहिलो पटक पानीमा अवतरण गरेको अमेरिकी मानवसहितको यात्रा हो।

“स्पेस एक्स र नासाको टोलीका तर्फबाट पृथ्वीमा पुनः स्वागत छ। स्पेस एक्समा उडाउनु भएकोमा धन्यवाद,” स्पेस एक्स मिसन कन्ट्रोलले अवतरणपछि भन्यो।

दुई महिनाअघि उक्त क्याप्स्यूल प्रक्षेपणको कार्यक्रममा सहभागी भएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुरक्षित अवतरणको स्वागत गरेका छन्।

“सबैलाई धन्यवाद,” उनले ट्विट गरेका छन्। “दुई महिना लामो मिसन सम्पन्न गरेर नासाका अन्तरिक्ष यात्रीहरू पृथ्वीमा फर्किएको विषय सुखद छ।”

उक्त क्याप्स्यूलको अवतरणका क्रममा चारवटा प्यारासुट प्रयोग गरिएको थियो।

करिब ५६० किलोमिटर प्रतिघण्टाको गतिमा तल झरिरहेको उक्त क्याप्स्यूलको गतिलाई प्यारासुटले समुद्र छुने बेला करिब २४ किलोमिटर प्रतिघण्टामा सीमित गरिदिएका थिए।

अवतरणपछि अन्तरिक्षयात्रीहरूलाई चिकित्सकहरूको टोलीले परीक्षण गरेका थिए।

त्यसपछि उनीहरूलाई हेलिकोप्टरद्वारा किनारमा लगिएको थियो।

प्रक्षेपणअघि नै यस मिशनले धेरैको ध्यान खिचेको थियो।

सन् २०११ मा द स्पेस शटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द गरिएपछि अमेरिकाले आफैँले अन्तरिक्षयात्री नपठाउनु त्यसको कारण रहेको थियो।

त्यसयता अमेरिका अन्तरिक्ष केन्द्रमा आफ्ना अन्तरिक्षयात्री पठाउने रुसको ‘सोयुज रकेट एन्ड क्याप्स्यूल’ प्रणालीमा निर्भर रहँदै आएको थियो।

यस पटकको भिन्नता भनेकै नासाले आफ्नो अन्तरिक्षयान नभइ अरूको भाडामा लिएर उडेको हो। यो टिकट किनेर यात्रा गरे जस्तै हो।

अन्तरिक्षयात्री लगेको स्पेस एक्स कम्पनीले आफ्ना सेवाहरू अन्य अन्तरिक्ष निकाय, कम्पनी र व्यक्तिहरूलाई समेत विक्री गर्न पाउनेछ।

अमेरिकी अन्तरिक्ष निकाय नासाका प्रशासक जीम ब्रिडेन्स्टाइनले आफैँ प्रक्षेपण प्रणालीको निर्माण र व्यवस्थापन नगर्ने कामले चन्द्रमा र मङ्गल ग्रह जाने मिसनका लागि पैसा बचत गर्ने आफूहरूले सोचेको बताएका थिए।श्रोत- बीबीसी नेपाली

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x