१२ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीको मानसिक तथा शारीरिक स्वास्थ्यबारे टिप्पणी,मधेश-थरुहट आन्दोलनका बन्दीहरूलाई रिहा गर्न माग

एसीपी संवाददाता

२६ श्रावण २०७७, सोमबार ०६:०० मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे कडा टिप्पणी गरेको छ ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वमा बसेको चार दिने बैठकले प्रधानमन्त्रीको मानसिक तथा शारीरिक स्वास्थ्यबारे टिप्पणी गरेको हो ।

‘बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गरी मुलुकमा अहिले कोभिड–१९ को महाविपत्तिबाट मुक्त भई नसकेको अवस्थामा केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको छ’ केन्द्रीय कार्यकारिणी समितिको शनिबार सम्पन्न बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

जसपाले प्रधानमन्त्री ओलीलाई अध्यादेश ल्याएर देशमा पार्टी विभाजन गर्ने तथा प्रतिपक्षलाई भूमिका विहीन गराउने किसिमबाट अधिनायवादी चरित्र देखाएको, संविधान संशोधन गर्ने सहमतिको परिपालना नगरी सरकार टिकाउन साम, दाम, दण्ड, भेद जस्ता अपराध गर्न अग्रसर भएको, राष्ट्रियता जस्तो विषयलाई भारतसँग जोड्ने वालापन देखाएको आरोप समेत लगाएको छ ।

नागरिकता सम्बन्धी विधेयकमा लैंगिक विभेद गर्नुका साथै भारत लगायतका देशसँगको पारिवारिक, सामाजिक, धार्मिक, सांस्कृतिक सम्बन्धलाई अवरुद्ध गर्ने प्रावधान राखिएको जसपाको ठहर छ ।

बैठकले सांसद रेशम चौधरी लगायतका मधेश÷थरुहट आन्दोलनका बन्दीहरूलाई रिहा गर्न माग गरेको छ ।

कञ्चनपुरकी निर्मला पन्त, रुकुम चौरजहारी हत्या घटना लगायतका हत्या, हिंसाका घट्नाले सरकार शान्ति सुरक्षा कायम गर्न असफल रहेको जसपाको निचोड छ ।

कोभिड–१९ सँगै बाढी, पहिरो, भूक्षय र डुबान जोखिम न्यूनीकरण, वैकल्पिक शिक्षा र कृषि सामग्री उपलब्ध गराउन सरकार तदारुकताका साथ लाग्नुपर्ने उसको सुझाव छ ।

जसपाले माडी नगरपालिका–९ कुसुमखोलास्थित चेपाङवस्तीमा आगजनी गर्नेलाई छानविन गरेर कारवाही गर्नुपर्ने माग गरेको छ ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर बनेको जसपाको पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठकमा राजनीतिक प्रतिवेदन, समायोजन निर्देशिका, आर्थिक व्यवस्थापनका एजेण्डा प्रस्तुत गरिएको थियो ।

नेताहरूको वरियता लगायतका विषयसँग जोडिएको समायोजन निर्देशिकाबारे बैठकले ठोस निर्णय गर्न नसकेको जसपाका एक नेताले जानकारी दिए ।

श्रोत-अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x