म्यान्मारका क्रूर शासक तथा सैन्य–नेता मिन आङ ह्लाइङ आजभोलि ‘कूटनीतिक विजय’को कल्पनामा बाँचिरहेका छन् । बन्दुकको बलमा शासन सत्ता चलाइरहेका उनी भ्रमको भुमरीमा छन् ।
९० प्रतिशत जनताले लत्याएको तथाकथित ‘हीरक–महोत्सव’मा उनी राष्ट्रपतिको पोसाकमा सजिए । म्यान्मारको ७५औं स्वतन्त्रता दिवसप्रति जनताको खासै चासो–चिन्ता देखिएन । कुनै समय म्यान्मारमा स्वतन्त्रता दिवसको बेग्लै उत्सव हुन्थ्यो । तर सेनाले जननिर्वाचित सरकार ‘कु’मार्फत् हत्याएपछि त्यो रमझम शून्यमा झरेको छ ।
गत वर्षको स्वतन्त्रता दिवसमा कम्बोडिया, रुस, बेलारुस, सर्बिया र उत्तर कोरियाले शासकलाई बधाई तथा शुभकामना दिएका थिए । तर यो वर्ष कम्बोडिया, रुस, बेलारुस, उत्तर कोरिया, साउदी अरेबिया र नेपालले सोही किसिमको सन्देश पठाए । चीन, थाइल्यान्ड र भारत– जसलाई सैन्य जुन्ताले असल छिमेकीको संज्ञा दिन्थ्यो, तिनीहरूले नै जेनरल मिन आङ ह्लाइङलाई शुभकाना दिएनन् । यद्यपि यी देशका कूटनीतिज्ञहरू भने स्वतन्त्रता दिवसको कार्यक्रममा सामेल भएको सैनिक मुखपत्रले जनाएको छ ।
म्यान्मारमा नागरिक सरकार हुँदा स्वतन्त्रता दिवसको भिन्नै रौनक हुन्थ्यो । सन् २०२१ मा प्रजातन्त्रवादी नेता आङ सान सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसीको सरकार थियो । ऊबेला चीन, थाइल्यान्ड, भारत, सिंगापुर र संयुक्त राज्य अमेरिकासहित २० देशले जनसरकारलाई स्वतन्त्रता दिवसमा शुभकामना सन्देश पठाएका थिए । तर सैन्य ‘कु’ यता दर्जनौं देशले म्यान्मारमाथि प्रतिबन्ध लगाएका छन् । कूटनीतिक सम्बन्ध तोडेका छन् । स्वतन्त्रता दिवसमा बधाई दिनुको साटो निन्दा गरेका छन् ।
गत वर्ष स्वतन्त्रता दिवसमा सैन्य शासकलाई ५ देशले बधाई तथा शुभकामना दिएका थिए । तर यो वर्ष ६ देशले बधाई तथा शुभकामना दिए । सैन्य शासकलाई माया गर्ने देशको सूचीमा नेपाल र साउदी अरेबिया थपिए । त्यसमा सर्बियाले अघिल्लो वर्ष समर्थन जनायो, अहिले फिर्ता लियो। नागरिकले बहिस्कार गरेको सैन्य उत्सवमा ६ देशले बधाई तथा शुभकामना दिँदा जनरल मिन आङ ह्लाइङ खुसीले गद्गद् छन् । सैन्य शासकको खुसीमा एउटा इँटा थप्ने काम नेपालले पनि गरेको छ । कसैले नदिएको बधाई–शुभकामना नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले दिए ।
म्यान्मारका क्रूर सैनिक शासक जनरल मिन आङ ह्लाइङलाई बधाई तथा शुभकामना दिएको भोलिपल्ट नेपाली राजदूतले म्यान्मारका राज्यमन्त्री ऊ को–कोलाई भेटे । राजदूतले भेटेका पात्र धार्मिक मामिला तथा संस्कृति मन्त्री हुन् । म्यान्मारका निर्दोष जनताको रगतमा सत्ता लम्ब्याइरहेका उनी धर्मको खोल ओढेर पाप गर्दै आइरहेका छन् । ‘स्वतन्त्रता र प्रजातन्त्र देउ’ भन्दा गोली ठोक्छन् । तिनै क्रूर शासकलाई नेपाली राष्ट्रपति र प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाए ।
सैनिकको आतंकले संकटको डिलमा उभिएको म्यान्मारलाई नेपालले मान्यता दिनु हुँदैन्थ्यो । जनतालाई गोली हान्दै मारिरहेको तानाशाहको स्वास्थ्य लाभको कामना एकदमै गलत थियो । कूटनीतिका हिसाबले पनि नेपालले म्यान्मारको सैनिकलाई स्वतन्त्रता दिवसको नाममा शुभकामना दिनु सन्देश होइनजस्तो लाग्छ । नेपाली राष्ट्रपति र प्रधानमन्त्रीले म्यान्मारका जनताको मन दुखाएका छन् । सैनिक शासकको पक्षमा खुलेर लागेको भान भएको छ ।
म्यान्मार र नेपालको सम्बन्ध जनजनको सम्बन्ध हो । म्यान्मारको स्वतन्त्रता आन्दोलनका नायक राष्ट्रपिता जनरल आङ सान र नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालाबीच ऊबेला ऐतिहासिक जनसम्बन्ध रहेको बर्मेली–नेपालीहरू बताउँछन् । तीन लाखको हाराहारीमा रहेका हामी नेपालीभाषीहरूले म्यान्मारलाई जन्मभूमि मान्दै आएका छौं । जसलाई यहाँका रैथानेहरू गोर्खा जाति भनेर चिन्छन् । म्यान्मारमा नेपालीहरूको बैग्लै शान र मान छ ।
म्यान्मार अहिले गृहयुद्धमा छ । देशभर लडाइँ जारी छ । जनता अभावै–अभावमा बाँचेका छन् । म्यान्मारभन्दा टाढाको देश नेपालले आन्दोलित जनतालाई सहयोग गर्न सक्दैन भन्ने थाहा नै छ । अनि म्यान्मारका जनातले पनि नेपालबाट ठूलै सहयोगको अपेक्षा गरेका छैनाैं । तर शासकलाई खुसी पार्ने नाममा सेनाको शासनबाट पेलिएका जनतालाई चोट नथपेको भए धेरै राम्राे हुन्थ्यो । म्यान्मारका लागि नेपाली दूतावासले यसमा गल्ती गरेकाे छ । अघिल्ला वर्षहरूमा नगरेकाे कार्य राजदूतले गर्नु हुँदैन्थ्याे ।
फेरि भन्छु– म्यान्मार र नेपालको सम्बन्ध जनता–जनताकाे सम्बन्ध हो । नेपालमा युद्ध हुँदा हाम्रा बा-आमाहरू रुन्थे रे । नेपाली मठ–मन्दिरमा गएर शान्तिको कामना गर्थे रे । नेपालमा भूकम्प जाँदा हामीहरू पनि रोएका छौं । मन्दिरमा गएर प्राथाना गरेका छौं । थाइल्यान्डमा गएका दाजुभाइ-दिदीबहिनीहरूले एकएक पैसा जम्मा गरेर नेपाली आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरूलाई विपतमा सहयोग पुर्याएका छन् ।
त्यो विपत्तिको समय थियो, त्यो मानवीय सहायता थियो । त्यो गर्नैपर्ने कर्त्तव्य थियो । अहिले नेपालमा शान्ति छाएको सामाजिक सञ्जालबाट पत्तो पाउँछौं । नेपाली-नेपाली मिलेर बसेका छन् । हामीलाई खुसी लाग्छ । र त, म्यान्मारका रैथानेहरूलाई नेपाल हाम्रो भावनाको देश हो भन्छौं । गोर्खालीहरूको पूर्खाको देश हो, नेपाल भन्दै धाक लगाउँछौं ।
नेपाली शासकले म्यान्मारको सैन्य शासकलाई तथाकथित स्वतन्त्रता दिवसमा बधाई तथा शुभकामना दिएर सैनिकलाई मान्यता दिनु कुनै अर्थमा पनि अर्थपूर्ण छैनजस्तो लाग्छ । किनभने हामी नेपाली पुस्तक पढ्छौं । नेपालीपनमा बाँचेका छौं । नेपाली भाषा, कला, साहित्य वा संस्कृति भुलेका छैनौं । भान्सा कोठादेखि सिरानीसम्म नेपाली पुस्तक छन् । पुस्तकभित्र नेपाली कथा–व्यथा छन् । ती पुस्तकमा उल्लेख गरेका धेरै पाठ बिर्सेपनि थोरै लाइन ताजै छन्– नेपालीहरू स्वतन्त्रता र प्रजातन्त्रका लागि लडे । शासकको गोलीबाट हजारौं नेपाली मारिए । कैयन् नेपालीहरूले परिवारका सदस्य गुमाए, आफ्ना दाजुभाइ–दिदीबहिनी युद्धमैदानमै छोडे । नेपाली जनताले गरेको लामो संघर्षले अन्ततः दलीय व्यवस्था ल्यायो, जनताको सत्ता आयो । तर नेपाली जनताको व्यवस्थाका मालिकले नै म्यान्मारको सबैभन्दा डरलाग्दो पात्रलाई कसरी, कुन मुखले बधाई, शुभकामना वा प्रिय मित्र भन्न सके ?
नेपाली राष्ट्रपति र प्रधानमन्त्रीलाई भन्न मन छ, पीडा भोगेका जनता एकै होइनन् र? बन्दुकको बलमा शासन गर्नेहरू एउटै चरित्रका हुँदैनन् र ? युद्ध बखतको समय सबैको दयालाग्दो नै हुँदैन र ? युद्धमैदानबाट एउटा बर्मेली नागरिकको नेपाली सरकारलाई प्रश्न छ– तपाईं दुःखमा हुँदा, तपाईंको देशमा युद्ध हुँदा या व्यवस्था परिवर्तनको आन्दोलनमा हुँदा प्रदर्शनकारीको मनमा के खेल्थ्यो ? त्यो बखतका शासकलाई समर्थन गर्नेहरूबारे के सोच्नुहुन्थ्यो, के भन्नुहुन्थ्यो ? आज म्यान्मारका नागरिकहरूले तपाईंबारे त्यस्तै सोचिरहेका छन्। यो एउटा नेपालीभाषीले गरेको प्रश्न होइन, आम बर्मेलीको साझा प्रश्न हो।
हामीहरूले भुलेका छैनौं, ती मानवअधिकारवादीहरू, प्याराप्यारा विद्यार्थी मित्रहरू र मिडियाकर्मी मित्रहरूलाई ज–जसले सैन्य क्रूरताको खुलेर विरोध गर्नुभयो । यूएनको कार्यालय र म्यान्मार दूतावासअघि प्रदर्शन गर्नुभयो । एउटा देशको व्यक्तिले अर्को देशको प्रजातन्त्रवादी आन्दोलनको समर्थन गर्दा पक्राउ खानुभयो । तपाईंहरूलाई म्यान्मारको तर्फबाट धेरैधेरै माया छ । धेरैधेरै शुभकामना छ । हामी बर्मेलीहरूले सामाजिक सञ्जाल र समाचारबाट थाहा पाइरहेका छौं । हाम्रो आन्दोलन सफल भएपछि एकपटक नेपालमै गएर धन्यवाद दिन मन छ । त्यो दिन एकदिन आउने नै छ । तर मेरो प्यारो देशका घिनलाग्दा शासकलाई बधाई र शुभकामना व्यक्त गरेर हामी नागरिकहरूको चिक्त दुखाउने नेपाली शासकलाई पनि धन्यवाद नै छ ।
खैर, नेपालप्रति कुनै गुनासो छैन । नेपालीहरू हाम्रा दाजुभाइ हुन् । म्यान्मार डरलाग्दो अवस्थामा छ । देशभित्र सैन्य तानाशाहीविरूद्धको क्रान्तिले फराकिलो रुप लिँदै गएको छ । युद्धमैदानमा नेपाली अर्थात् गोर्खाली पनि सामेल छन् । नेपालीहरू राष्ट्रिय एकता सरकारको पक्षमा छन् । एउटा बर्मा अर्थात् म्यान्मारभित्र कैयन् चरित्र छन् । हिटरलजस्तै क्रूर शासक छन् । गान्धीजस्तै शान्तिप्रेमी छन् । अनि नेपाली रगतकाे सहारा लिएर बाँचिरहेका नेपाली पूर्खाका सन्तानहरू पनि छाैं । ईकान्तिपुर बाट


