१२ असार २०८३, शुक्रबार

तनावपछि सुरक्षा फौजको संख्यामा उल्लेख्य वृद्धि

एसीपी संवाददाता

२१ भाद्र २०७७, आईतवार ०३:२६ मा प्रकाशित

चीनसँग लद्दाख सीमा क्षेत्रमा तनाव बढेपछि भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा केही दिनयता सुरक्षा फौजको तैनाथी बढाएको छ ।चीनसँग उसको पछिल्लो तनावपछि सुरक्षा फौजको संख्यामा उल्लेख्य वृद्धि गरेको हो ।

लद्दाखमा तनाव बढेसँगै भारतले ३/४ दिनयता कालापानी र लिपुलेक क्षेत्रमा अर्द्धसैनिक बल एसएसबी, भारत–तिब्बत बोर्डर पुलिससँगै सेनासमेत परिचालन गरेको हो । उत्तराखण्ड राज्यको पिथौरागढ–धार्चुला हुँदै सुरक्षा फौजका गाडीहरू ‘अग्रिम मोर्चा’ तर्फ गइरहेका छन् । यसका साथै भारतीय वायु सेनाका हेलिकप्टर र विमानले हवाई गस्ती तीव्र बनाएको स्थानीय बताउँछन् ।

केही दिनयता नियमित रूपमा दार्चुलाको व्यास क्षेत्रमा भारतीय वायु सेनाको जेट लडाकु विमानले दैनिक चार/पाँच पटक उडान भर्ने गरेका छन् । ‘करिब एक साता हुँदै छ, भारतीय जेट फाइटर र ठूला हेलिकप्टर देखिँदै छन्,’ व्यासका एक स्थानीयले भने, ‘चीनले सीमानजिक सैनिक गतिविधि बढाउन थालेको भन्दै भारतले यो क्षेत्रमा हवाई गस्ती बढाएको बुझिएको छ ।’ बस्तीमाथिको नेपाली आकाशमा पनि कहिलेकाहीं जेट विमान देखिन थालेका छन् । माथिल्लो कौवा क्षेत्रको आकाशमा सधैंजसो उडान भइरहेको उनले बताए ।

बिहीबार भने दार्चुला सदरमुकाम खलंगा आसपासबाटै भारतीय विमानले गस्ती गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार धूवाँको मुस्लो बनाएर दुई जेट विमान ‘माथिल्लो क्षेत्रतिर’ गएका थिए । ‘एउटा विमान दार्चुला सदरमुकामनजिक छापरीको डाँडामाथि भएर उडेको थियो,’ छापरीका स्थानीय हरकसिंह कार्कीले भने, ‘अर्को भने छापरीपारि (भारत) को धार्चुलाकोटको डाँडा भएर उत्तरी सीमातिर उडेको थियो ।’

सीमामा तैनाथ नेपाली सुरक्षा निकायले पनि लद्दाखमा तनाव बढेपछि भारतले दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा सैनिक गतिविधि बढाएको बुझिएको जनाएको छ । सशस्त्र प्रहरीका एसपी नरेन्द्र बमका अनुसार एक सातादेखि भारतले आफ्नो क्षेत्रमा सुरक्षाकर्मीको परिचालन बढाएको छ ।

के कति संख्यामा भन्ने नदेखिए पनि सुरक्षा तैनाथी बढाएको सुन्नमा आएको उनको भनाइ छ । दार्चुला सदरमुकाम पारि धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा भारतीय अर्द्धसैनिक बल एसएसबीले कडा निगरानी गरिरहेको छ । एसएसबीले सीमा क्षेत्रको गस्तीसमेत बढाएको छ । भारतले लिपुलेकसम्मको सडक सञ्चालनमा ल्याएदेखि सेनाको हवाई उडान घटाए पनि स्थलमार्गबाट धेरै गाडी दिनहुँ कालापानी क्षेत्रमा जाने गरेका छन् ।

पछिल्लो समय सशस्त्र प्रहरीको छाङरु पोस्टका सुरक्षाकर्मीले भदौ ८ देखि ११ सम्म टिंकर क्षेत्र र शनिबार कौवा क्षेत्रमा गस्ती गरेको थियो । सीमा क्षेत्रको अवस्था बुझ्न गस्ती र निगरानी बढाएको एसपी बमले बताए । ‘गस्ती पुगेको ठाउॅसम्म विदेशीको अस्वाभाविक गतिविधि भेटिएन,’ उनले भने, ‘सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीसित समन्वय गरेर गतिविधि बढाइएको छ ।’

धूवाँको मुस्लो छाड्दै आफ्नो क्षेत्रमा लडाकु विमान तारन्तार उड्न थालेपछि स्थानीय ‘कतै भारत र चीनबीच युद्ध हुन लागेको त होइन’ भन्ने आशंकाले त्रसित छन् । युद्ध भइहाले त्यसको प्रत्यक्ष प्रभाव आफूहरूमा पर्ने भएकाले पनि भारतीय सैनिक गतिविधिका कारण उनीहरूमा चिन्ता बढेको छ । श्रोत ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x