पिठो लागि तर्सिने पाकिस्तानी जनता , ४ जनाको मृत्यु
पाकिस्तान, चैत । पाकिस्तानको पन्जाब प्रान्तमा विगत केही दिनमा सरकारी वितरण केन्द्रबाट निःशुल्क पिठो लिने क्रममा भगदरमा परेर ४ वृद्धको मृत्यु भएको छ ।
पन्जाब सरकारको एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै पिटिआइले यो जानकारी दिएको हो । उनले मुल्तान, मुजफ्फरगढ र फैसलाबाद लगायतको सहरमा यस्तो घटना भएको जानकारी दिए ।
पिठो लिन मानिसको बाक्लो भिडभाड हुने र वितरणको लागि स्थापना गरिएका सरकारी वितरण केन्द्रमा सुविधा नहुँदा यस्तो दुर्घटना भएको अधिकारीले बताए ।
मृतकमध्ये दुई जनाको भाग दौडका कारण र दुई जनाको घन्टौँ लाइनमा बसेर मृत्यु भएको उनले भने । यस्तै, त्यहाँ जम्मा भएका मानिसलाई लाइनमा उभ्याउन प्रहरीले लाठीचार्ज गरेको थियो ।
पाकिस्तानमा विगत केही महिनादेखि चलिरहेको अत्यधिक मुद्रास्फीतिबाट गरिबलाई राहत दिन गरिबहरूलाई निःशुल्क पिठो वितरण गर्ने योजना सुरु गरिएको छ ।


