युक्रेन युद्ध सम्बन्धी गोप्य दस्तावेजहरु इन्टरनेटमा लिक गरेको आरोपमा अमेरिकी नेशनल गार्डका ज्याक पक्राउ
वासिंगटन । युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयबाट गोप्य सुचनाहरु तथा दस्तावजहरु लिक गरेको आरोपमा अमेरिकी नेशनल गार्डका २१ बर्षिय ज्याक टइसेइरालाई पक्राउ गरिएको छ ।
युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सय वटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट लिक भएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय टेइसेइरालाई पक्राउ गरिएको हो । उनी मासाचुसेट्स एयर नेश्नल गार्डमा कार्यरत थिए ।
चुहाइएका दस्तावेजबाट वासिंगटनदेखि किभ र सोल सम्म अमेरिकाका सहयोगीलाई तर्साएको छ भने वासिंगटनका समर्थकलाई सशंकित तुल्याएको छ । ती दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु सबैको जासुसी गरेको उल्लेख छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस रुस अनुकूल बनेको, उनका गतिविधि पनि निगरानी गरिएको, उनका सहयोगी बीच भएका व्यक्तिगत संवाददेखि दिएर युक्रेनमा विदेशी फौज सक्रिय रहेका विषय इन्टरनेटबाट चुहिएका थिए ।
अमेरिकी रक्षा मन्त्रालयले जानाजान गोप्य सूचना चुहाइएको बताउँदै अभियुक्तलाई फौजदारी अभियोग लगाइने बताएको छ । संघीय जाँच ब्युरोका अधिकारीहरूले ज्याक माथि अनुसन्धान थालिएको बताएका छन भने महान्यायाधिवक्ता मेरिक गारल्याण्डले राष्ट्रिय सुरक्षा सम्बन्धी गोप्य एवम् संवेदनशील दस्तावेज चुहाएको आरोपमा मुद्दा दायर गरिने बताएका छन् । अधिकारीहरूका अनुसार उनलाई आजै अदालतमा उपस्थित गराइने सम्भावना छ । एजेन्सी


