कोरोना संक्रमित वडा अध्यक्षको नेपालगञ्जमा मृत्यु

बर्दियाका कोरोना संक्रमित ३९ बर्षीय वडा अध्यक्षको आज बुधवार भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ ।
दुबै फोक्सोमा निमोनिया भएका बारबर्दिया नगरपालिका ३ बनियाभारका ती पुरुषको भेरी अस्पताल नेपालगञ्जमा विहान साढे १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उनी सोही वडाको वडाध्यक्ष रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
कोभिडको आशंकामा भदौ २८ गते उनको बर्दियाबाट स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तर, उनको स्वास्थ्य जटिल समस्या आएका कारण भदौ २९ गते भेरी अस्पतालमा भर्ना गरी त्यसै दिन स्वाब लिइएको थियो ।
भोलिपल्ट पोजिटिभ रिपोर्ट आएपछि उनलाई रेम्डीसिभिर चलाइनुका साथै असोज ४ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्य अवस्था झनै जटिल बनेपछि आज उनको मृत्यु भएको हो । यो संगै बाहिरी जिल्लाबाट बाँकेमा आई उपचारका क्रममा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।





