रुसविरुद्ध जवाफी आक्रमण गरिरहेका छौं : जेलेन्स्की
काठमाडौँ — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाविरुद्ध जवाफी कारबाही गरिरहेको बताएका छन् । तर यसबारे उनले कहाँ के भएको भन्नेबारे खुलस्त प्रतिक्रिया दिएका छैनन् ।
क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोको भ्रमणको क्रममा राजधानी किभस्थित पत्रकार सम्मेलनको क्रममा जेलेन्स्कीले यस्तो बताएका हुन् । युक्रेनी सेनाले बेहोर्नुपरेको क्षति तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नको जवाफ दिँदै जेलेन्स्कीले शनिबार यस्तो बताएका हुन् ।
जेलेन्स्कीले युक्रेनमा रुसी सेनाविरुद्ध जवाफी कारबाही भइरहेको बताएका थिए । ‘तर म यो कारबाही कुन चरणमा पुगेको छ भन्नेबारे भन्दिनँ,’ जेलेन्स्कीले भने, ‘म विभिन्न क्षेत्रमा रहेका हाम्रा कमान्डरहरूसँग हरेक दिन नियमित सम्पर्कमै छु ।’ युक्रेनका पाँच उच्चस्तरीय सैन्य अधिकारीको नाम उच्चारण गर्दै उनले यसबारे प्रतिक्रिया दिएका थिए ।
यसैबीच बेलायती रक्षा मन्त्रालयले युक्रेनले पछिल्लो ४८ घण्टामा धेरै पूर्वी र दक्षिणी भागहरूमा महत्त्वपूर्ण कारबाहीहरू सञ्चालन गरेको पनि जनाएको छ । युक्रेनले जवाफी कारबाहीका लागि पश्चिमबाट प्रशिक्षित र हतियारबाट सुसज्जित हजारौं सेनाहरू प्रयोग गर्ने अपेक्षा गरिएको छ ।


