२२ श्रावण २०८३, शुक्रबार

सुन तस्करीको ट्रान्जिट बन्दै ‘नेपाल ; चीन लगाएत देश बाट आएको सुन भारत तिर

एसीपी संवाददाता

७ श्रावण २०८०, आईतवार १७:५८ मा प्रकाशित

नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको छ। एक दशक यताको तथ्याङ्कले यसको पुष्टि हुन्छ। एउटै किसिमको अपराध बारम्बार भइरहने र अझ ठुलो परिणाममा हुनुले तस्करी नियन्त्रणमा सरकारी संयन्त्र पूर्ण असफल भएको देखिन्छ। सुन तस्करी एउटा सङ्गठित अपराधको रूपमा मौलाएको बुधबार बरामद सुनको परिणामले पनि पुष्टि हुन्छ।

बुधबार साँझ राजश्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थलबाट बाहिर लैजान लागिएको अवस्थामा करिब १ सय किलो सुन बरामद गरेको थियो। बिहीबार साँझसम्म एक भारतीय र एक चिनियाँ नागरिकसहित ७ जनालाई पक्राउ गरेको छ।

चीनबाट तस्करी गरेर ल्याउने गरिएको सुन तस्करहरूले दक्षिण छिमेक भारत पुर्‍याइरहेका छन्। विभिन्न तीन तहमा सक्रिय तस्करहरूले चीनबाट सुन नेपाल पठाउने, काठमाडौँमा भण्डारण गर्ने, काठमाडौँबाट नेपाल–भारतको नाका हुँदै भारत छिराउने काम गरिरहेका छन्। नेपालको आन्तरिक माग भन्दा बढी सुन बरामद हुनुको अर्थ तस्करी मौलाउनु नै हो।

नेपाल प्रहरीबाट प्राप्त तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७०/७१ देखि ०७९/८० सम्म तस्करी गरेर ल्याइएको ८०१ किलो सुन बरामद भएको छ।

यसमध्ये सबैभन्दा बढी ०७४/७५ मा २ सय किलो र ०७१/७२ मा १७८ किलो सुन बरामद भएको तथ्याङ्कले देखाउँछ। र, तस्करीमा संलग्न ७०६ जना पक्राउ परेका छन्। यस तथ्याङ्कले नेपाल सुन तस्करीको ट्रान्जिट बन्दै गएको पुष्टि हुन्छ।

अझ रोचक कुरा त २०७२ भूकम्प अघि नेपाल–चीनको खासा बोर्डरबाट स्थल मार्ग हुँदै सुन तस्करी हुन्थ्यो। हवाई मार्गको तुलनामा स्थल मार्ग तस्करहरूका लागि सुरक्षित थियो। तर अहिले भने खासा नाका बन्द छ। धेरै परिमाणको सुन त्रिभुवन विमानस्थलबाटै सेटिडमा नेपाल भित्रिरहेको छ। तस्करहरूले सेटिङ मिलाएर हवाई मार्गबाट सुन तस्करी गर्न थालेका छन्। यसरी तस्करी गरेर ल्याइने गरिएको अधिकांश सुन काठमाडौँ उपत्यकाबाटै बरामद 

भइरहेको छ।

विगतका सुन तस्करी र तीनको अनुसन्धानमा संलग्न सरोकारवाला निकायका प्रतिनिधि तथा उनीहरूले दिएका प्रतिवेदन अनुसार नेपालमा सुन तस्करीमा तीन तहको घेरा छ। पहिलो तहका कारोबारी दुबई, हङकङ र चीन बसेर आफ्नो क्षेत्र कटाइदिनेसम्म जिम्मेवारी सम्हाल्छन्।

दोस्रो तहका नेपाल बसेर सहयोगीमार्फत भन्सार कटाउन सक्रिय हुन्छन्। जानकारका अनुसार दोस्रो तहमा हङकङ तथा दुबईबाट सुन ल्याउने फरक–फरक समूह सक्रिय छन्।

तेस्रो तहका कारोबारी भने नेपाल–भारत सीमामा बस्छन्। काठमाडौँमा स्टोर भएको सुन स्थल मार्ग हुँदै भारतीय कारोबारीसम्म पुर्‍याउने जिम्मा उनीहरूकै देखिन्छ। यस्ता कारोबारी बढी वीरगन्ज क्षेत्रमा सक्रिय छन्। सुन तस्करीको अनुसन्धानमा खटिएका अधिकृत र उनीहरूले तयार पारेको प्रतिवेदनले सुन तस्करीमै संलग्न व्यक्तिहरू नै वैदेशिक मुद्रा र हुन्डी कारोबार संलग्न भएको देखाउँछ। र हुन्डी कारोबार संलग्न भएको देखाउँछ।

२०७० असारदेखि २०७१ असारसम्म नेपालमा सुन तस्करीको क्रम ह्वात्तै बढेको बरामद सुन परिमाणले देखाउँछ। २०६९/७० मा ६९ किलो फेला परेकोमा ०७०/७१ मा १ सय ४१ किलो बरामद भयो। ०७१/७२ मा १७८ किलो बरामद भयो। त्यति बेला अधिकांश सुन स्थल मार्गबाट लुकाइछिपाई उपत्यका भित्राउने क्रममा बरामद भएका हुन्।

२०६९ देखि आर्थिक वर्ष ०७१/७२ सम्म सबैभन्दा धेरै अवैध सुन उपत्यकामै बरामद भएको देखिन्छ। प्रहरी प्रधान कार्यालयका अनुसार यस अवधिमा देशभरि २ सय ६५ किलो अवैध सुन फेला परेकामा उपत्यकामै १ सय ४७ किलो बरामद भएको थियो। त्यस यताको तथ्याङ्क केलाउँदा पनि सुन तस्करीको ट्रान्जिट काठमाडौँ उपत्यका नै भएको देखिन्छ।

प्रहरीको पुरानो तथ्याङ्क अनुसार सुन बरामद भएको दोस्रो क्षेत्रमा मध्य नेपाल पर्छ। तेस्रोमा पूर्व क्षेत्र पर्छ। यसबिचमा पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिममा समेत केही परिमाणमा अवैध सुन फेला परेको छ। यो प्रवृत्तिले उपत्यकालाई केन्द्रबिन्दु बनाएर पूर्व र मध्य क्षेत्रको बाटो हुँदै अवैध सुन भारततिर तस्करी हुने गरेको झल्काउँछ।

सुरुमा व्यापारीले खासाबाट सामान ल्याउने कन्टेनर, जिप र साना व्यक्तिगत सवारीमा फल्स बटम बनाएर सुन भित्राउने गरेका थिए।

यसरी उपत्यका भित्राउने सुन पटक–पटक प्रहरीको फन्दामा पर्न थालेपछि व्यापारीले कम्मरमा बाँधेर, जुत्ताको सोलमा राखेर र मोटरसाइकलको डिकीमा लुकाएर तस्करी गर्न थाले। यसले स्थल मार्गबाट हुने सुन तस्करी केही कम भयो। स्थल मार्गमा कडाइ भएपछि कारोबारीहरू हवाई मार्गतिर लागे। कारोबारीले दुबई, हङकङ, कतार र मलेसियाबाट काठमाडौँ आउने हवाई रुट तस्करीमा उपयोग गर्न थाले। वैदेशिक रोजगारका लागि गएका नेपालीसमेत भरियाका रूपमा प्रयोग हुने क्रम चल्यो, जुन अझै जारी छ। नागरिक न्युज बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x