९ मंसिर २०८३, मंगलवार

एक क्विन्टल सुन तस्करीमा जोडिए माओवादी नेता वर्षमान पुन

एसीपी संवाददाता

१४ श्रावण २०८०, आईतवार २२:३४ मा प्रकाशित

काठमाडौं – एक क्विन्टल सुन बरामद प्रकरणमा माओवादी नेता वर्षमान पुन पनि जोडिएका छन् ।

सुन तस्करीको आरोपमा पक्राउ परेका दावा छिरिङ तामाङको माओवादी नेता पुनको परिवारसँग पारिवारिक रूपमा घनिष्ठ सबन्ध रहेको खुलेको छ। ठमेलस्थित होटल भियनाका सञ्चालकसमेत रहेका दावा छिरिङ शनिबार पक्राउ परेका हुन् ।

उनी बेल्जियमका नागरिक रहेको खुलेको छ। तर, नेपालबाट बेल्जियम पुगेर उनले त्यहीँको पासपोर्ट बनाई भिजिट भिसामा नेपाल आएको खुलेको छ ।

तिब्बतीयन मूलका दावाले सुरुमा नेपाली नागरिकता लिएर बेल्जियम पुगेर त्यहीँको पासपोर्ट बनाई एनआरएनए बनेको बुझिएको छ । उनीसँग नेपाली नागरिकतासमेत रहेको खुलेको छ।

dawa.jpg

उनले नागरिकता लिएको एक महिनापछि नै नेपाली पासपोर्टसमेत लिएको पत्ता लागेको छ। उनले विभिन्न देश जाँदा बेल्जियम र नेपालका पासपोर्ट प्रयोग गर्ने गरेका थिए।

मिडिया डबलीलाई प्राप्त एक तस्बिरमा पुन र उनकी श्रीमती ओनसरी घर्तीसँग खाना खाइरहेको देखिन्छ । तस्बिरमा पाँचजना छन् । दावा ओनसरीको छेउमै रहेर खाना आइरहेका छन् ।

dawa3j.jpg

बाहिर होटलबाट खाना मगाएर पुन दम्पतीसँग उनीहरूले सँगै खाना खाइरहेको देखिन्छ । दावाले एमाले नेता सर्वेन्द्र खनाल आईजीपी हुँदा पनि उनीसँग निकट सम्बन्ध बनाएका थिए ।

ठूला पार्टीका चलेका नेता र उच्च प्रहरी अधिकृतसँग बसेर तस्बिर खिचाउने र अरुलाई प्रलोभनमा पारेर तस्करी सञ्जाल विस्तार गर्न दावा माहिर मानिन्छन् ।

dawa4.jpg

एक क्विन्टल सुन बरामद प्रकरणमा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि संलग्न रहेको आरोप लगाउँदै सदन अवरुद्ध गरेको छ ।

साथै, एमालेले विद्युतीय चुरोट (भेप) मा लुकाएर चिनियाँ नागरिकले ल्याएको नौ किलो सुन गायब प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुललाई अनुसन्धानको दायरामा ल्याउन दबाब दिइरहेको छ ।

वर्षमान पुन चिनियाँ नेताहरूसँग राम्रो सम्बन्ध रहेका नेता हुन् । उनको गम्भीर उपचार चीनले निःशुल्क गरिदिएको थियो । मिडियाडबलि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x