भारतीय राजदूतावास द्वारा जुम्लाको एक शिक्षण अस्पताललाई एम्बुलेन्स प्रदान

भारत सरकारले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई अत्याधुनिक एम्बुलेन्स उपलव्ध गराएको छ । महात्मा गान्धीको १५१ औँ जन्मजयन्तीको अवसरमा भारतले नेपालका ३० वटा जिल्लाका सरकारी निकाय र गैरसरकारी एवं गैरनाफामूलक संघसंस्था मध्येमा प्रतिष्ठानलाई पनि एम्बुलेन्स उपलव्ध गराएको हो ।
राजदूतावासले यो वर्ष पहिलोपटक तीन प्रकारका एड्भान्स, बेसिक र कमन लाइफ सपोर्ट श्रेणीका एम्बुलेन्स प्रदान गरेको हो ।
एम्बुलेन्समा ट्राभलिङ भेन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस जडान गरिएका छन् ।
भारतीय दूतवासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवं गैरनाफामूलक संघसंस्थालाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहारस्वरूप प्रदान गरेको छ । दुतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरूलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहारस्वरूप प्रदान गर्दै आएको छ । सन् १९९४ देखि आजसम्म आठ सय २३ वटा एम्बुलेन्स भारत सरकारले उपलब्ध गराइसकेको छ ।



