डा. केसीको समर्थनमा जुनियर चिकित्सक आन्दोलनमा उत्रिए

स्वास्थ्य सेवा सुधारको माग गर्दै २० दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको समर्थनमा जुनियर चिकित्सक आन्दोलनमा उत्रिएका छन् भने युवाले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा सत्याग्रहमा बसिरहेका डा. केसीको स्वास्थ्य बिग्रिँदै गएको छ । उनलाई जतिवेला पनि समस्या आउन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डा. केसीको स्वास्थ्य दिनहुँ खस्किँदै गएको उनका सहयोगी प्रितम सुवेदीले बताए ।
२० दिनसम्म पनि सरकारले वास्ता नगरेपछि उनको समर्थनमा प्रदर्शन सुरु भएको छ । शनिबार स्वतस्फुर्त रूपमा युवाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरूले डा. केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् ।
त्यस्तै, जुनियर चिकित्सक पनि डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका छन् । उनीहरूले डा. केसीको जीवनरक्षा गर्न र तत्काल उनका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंस्थित वीर अस्पताल र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका जुनियर चिकित्सकले सरकारलाई वार्ताका लागि २४ घन्टाको ‘अल्टिमेटम’ दिएका छन् । अब २४ घन्टाभित्र वार्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
२९ भदौमा जुम्लाको धर्मशालामा सत्याग्रह सुरु गरेका डा. केसीलाई स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेपछि काठमाडौं आएका हुन् । उनलाई राखिएको त्रिवि शिक्षण अस्पतालमै सत्याग्रह जारी राखेका छन् । सरकारले भने २० दिन बितिसक्दा पनि वार्ताका लागि समेत पहल गरेको छैन । श्रोत नयाँपत्रिका




[…] […]
[…] […]