९ मंसिर २०८३, मंगलवार

भारतको चन्द्रयानले पठाएको चन्द्रमाको पहिलो तस्वीर

एसीपी संवाददाता

२३ श्रावण २०८०, मंगलवार ०८:४५ मा प्रकाशित

एजेन्सी न्युज =भारतको चन्द्रयान-३ अन्तरिक्षयान दुई दिनअगाडि अगष्ट ५ मा चन्द्रमाको कक्षमा प्रवेश गरिसकेको छ । चन्द्रमाको कक्षमा प्रवेश गर्ने चरण पार गरेपछि चन्द्रयानले यतिबेला चन्द्रमाको पहिलो तस्वीर पनि पठाएको छ ।

गत महिना जुलाई १४ मा एलभीएम ३-एम४ रकेटबाट चन्द्रयान-३ लाई अन्तरिक्षमा पठाइएको थियो । आन्ध्र प्रदेशको श्रीहरिकोटा स्पेस सेन्टरबाट रकेट प्रक्षेपण गरिएको थियो ।

भारतको अन्तरिक्ष संस्था इसरोले यतिबेला चन्द्रयान-३ अभियान सञ्चालन गरिरहेको हो । इसरोले चन्द्रयान-३ अन्तरिक्षयानले चन्द्रमाको कक्षमा प्रवेश गरेसँगै पहिलो तस्वीर पठाएको जानकारी दिएको छ ।

चन्द्रयान–३ नामक ट्वीटर ह्यान्डलबाट चन्द्रयानले पठाएको चन्द्रमाको तस्वीर पनि सार्वजनिक गरिएको छ । जहाँ हामी चन्द्रमाको सतह देख्न सक्छौँ । चन्द्रयान-३ अभियानका लागि अगष्ट २३ निकै महत्त्वपूर्ण समय हुनेछ । किनभने त्यसदिन चन्द्रयानले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने इसरोले जनाएको छ ।

चन्द्रयान ३ मा एउटा ल्यान्डर, एउटा रोभर र एक प्रोपल्सन मोड्युल छ । यी सबैको कुल वजन ३ हजार ९ सय केजी हो । प्रोपल्सन मोड्युलले ल्यान्डर र रोभरलाई चन्द्रमा नजिकै छाड्नेछ । ल्यान्डर र रोभरलाई चन्द्रमाको सतहदेखि १०० किलोमिटर मात्र टाढा छाडेर प्रोपल्सन मोड्युल चन्द्रमाको कक्ष वरिपरि घुम्नेछ ।

त्यसपछि ल्यान्डरले आगामी यात्रा तय गर्दै चन्द्रमाको सतहमा अवतरण गर्नेछ र त्यहाँबाट ६ चक्के रोभर अनुसन्धानको लागि बाहिर निस्कनेछ । रोभरले चन्द्रमाको धातु र माटोको नमुना संकलन गर्नुका साथै यसले त्यहाँ पानी पाइन्छ कि पाइँदैन र कस्ता खनिज पाइन्छन् भनेर अनुसन्धान गर्नेछ ।

यदि भारतीय अन्तरिक्षयान चन्द्रमामा अवतरण गर्न सके भारत रुस, अमेरिका र चीनपछि चन्द्र अभियानमा सफल हुने चौथो राष्ट्र बन्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x