ब्रिक्स सम्मेलनमा सहभागी हुन मोदी दक्षिण अफ्रिका जाँदै
नयाँदिल्ली — भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १५ औं ब्रिक्स शिखर सम्मेलनमा भाग लिन मंगलबार दक्षिण अफ्रिकाको जोहानेसबर्ग जाँदै छन् । २२ देखि २४ अगस्टसम्म ब्रिक्स समिट हुँदै छ ।
विदेश मन्त्रालयले सोमबार गरेको विशेष पत्रकार सम्मेलनमा मोदीको भ्रमणबारे जानकारी दिइएको छ । विदेश सचिव विनयमोहन क्वात्राले तीन वर्षको अन्तरालपछि भौतिक उपस्थितिका साथ ब्रिक्स सम्मेलन हुन लागेको बताए । कोभिड–१९ का कारण पछिल्ला तीनवटा बैठक भर्चुअली भएका थिए । ब्रिक्सको मञ्चमा वैश्विक चुनौती र बहुपक्षीय साझा मुद्दाहरूमाथि चर्चा हुने उनले जानकारी दिए । वैश्विक घटनाक्रमको विकास र चुनौतीमा ब्रिक्सले खेल्न सक्ने भूमिका तथा बहुपक्षीय मुद्दाहरू बैठकको एजेन्डा हुने उनले उल्लेख गरे । प्रतिआतंकवाद लगायतका विषय पनि शीर्ष नेताहरूबीचको छलफलको विषय रहने सचिव क्वात्राले जानकारी दिए ।
ब्रिक्स सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि भाग लिँदै छन् । सी र मोदीबीच जोहानेसबर्गमा साइडलाइन भेटवार्ताको पनि सम्भावना छ । तर, विदेश मन्त्रालयले त्यसको पुष्टि गरेको छैन । पत्रकार सम्मेलनमा दुई नेताबीच द्विपक्षीय भेटवार्ताको सम्भावनाबारे सोधिएको प्रश्नमा क्वात्राले धेरै नेताहरू जोहानेसबर्गमा रहने भएकाले को–कोसँग द्विपक्षीय भेटवार्ता हुने त्यो अझै टुंगो नलागिसकेको बताए । उनले प्रधानमन्त्री मोदीको कार्यतालिका अझै विकासकै क्रममा रहेको भन्दै सीसँगको भेटको सम्भावनालाई अस्वीकार गरेका छैनन् । तीन वर्ष अगाडि २०२० जुन १५ मा गलवान घाटीमा भारत र चीनका सैनिकबीच झडप भएयता दुई देशबीचको सम्बन्ध चिसिएको छ । सैन्य कमान्डर तहमा १९ औं पटक वार्ता भए पनि सीमा विवादलाई लिएर द्विपक्षीय सहमति भइसकेको छैन । त्यही भएर ब्रिक्स सम्मेलनमा मोदी र जिनफिङबीचको सम्भावित द्विपक्षीय वार्तालाई महत्त्वका साथ हेरिएको छ ।
ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य राष्ट्र छन् । ब्रिक्सको आकार बढाउन र थप देशलाई सदस्यता दिन चीन इच्छुक देखिएको छ । पश्चिमा मुलुकको समानान्तरमा ब्रिक्सलाई त्यहीअनुसारको ठूलो संगठन बनाउने मनसायमा चीन रहेको बताइएको छ । तर, भारत ब्रिक्सलाई गुटनिरपेक्ष संस्था बनाइराख्नपर्ने पक्षमा छ । यद्यपि क्वात्राले भारत ब्रिक्सको विस्तारका सवालमा सकारात्मक नियत र खुला दिमागले छलफलका लागि तयार रहेको बताए । उनले शीर्ष नेताहरूबीच हुने छलफलको परिणामले धेरै कुरा बताउने भन्दै त्यस विषयमा पूर्वानुमान गर्नु ठीक नहुने बताए । बीबीसीको रिपोर्टअनुसार ४० देश ब्रिक्समा जोडिन इच्छुक देखिएका छन् । ईकान्तिपुर


