अफगानिस्तानको प्रसिद्ध राष्ट्रिय निकुञ्जमा महिलालाई प्रतिबन्ध
अफगानिस्तान — तालिबान सरकारले अफगानिस्तानको प्रसिद्ध राष्ट्रिय निकुञ्ज ‘ब्यान्ड-ए-अमिर’ मा घुमफिरका लागि महिलाहरूलाई प्रतिबन्ध लगाएको छ । बामियान प्रान्तमा अवस्थित उक्त निकुञ्जमा महिलाहरूले हिजाब नलगाइकन प्रवेश गर्नाले उनीहरूमाथि प्रतिबन्ध लगाएको बताइएको छ ।
अफगानिस्तानका संस्कृति मन्त्रालयका कार्यवाहक मन्त्री मोहम्मद खालेद हानाफीका अनुसार महिलाहरू उक्त पार्कमा हिजाबबिना प्रवेश गरेका थिए । सोही कारण मन्त्री हानाफीले धर्मगुरु र सुरक्षा निकायलाई समस्या समाधान नभएसम्म महिलालाई प्रवेशमा रोक लगाउन आग्रह गरे ।
२००९ मा स्थापना भएको उक्त पार्क पर्यटकलाई आकर्षित गर्ने अफगाानिस्तानको प्रमुख गन्तव्यमध्ये एक मानिन्छ । जुन अफगानिस्तानकै पहिलो पार्क पनि हो । चर्चित पर्यटकीय गन्तव्य मानिने यस पार्कमा महिलालाई प्रतिबन्ध लगाएपछि पारिवारिक जमघट र घुमफिर घट्नसक्ने आकलन गरिएको छ ।
अफगानिस्तानको यस पार्कलाई प्राकृतिक रुपमा निर्मित तालहरू साथै विशेष भूवैज्ञानिक संरचनासहितको अद्वितीय सौन्दर्य भएको स्थानको रुपमा युनेस्कोले व्याख्या गरेको छ । यस्तै बामियन प्रान्तका धार्मिक गुरुहरूले पार्कमा घुम्न आउने महिलाहरूले यहाँको ‘नियम’ पालना नगरेको भन्दै आपत्ति जनाउँदै आएका थिए । एजेन्सी न्युज


