राष्ट्रसंघ मुख्यालयमा महासभाको चहलपहल
नेपालबाट प्रधानमन्त्रीको नेतृत्वमा ११ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुँदै
न्युयोर्क, अमेरिका — संयुक्त राष्ट्रसंघ (यूएन) को ७८ औं महासभाको चहलपहल बढेको छ । हरेक वर्ष हुने बहुपक्षीय कूटनीतिको यो ‘कुम्भ मेला’ मा सहभागी हुन विभिन्न मुलुकका अधिकारी न्युयोर्कस्थित यूएनको मुख्यालयमा आउन थालेका हुन् ।
महासभामा एक सय ९३ सदस्य मुलुक र अन्य केही आमन्त्रित मुलुकका राष्ट्रप्रमुख, सरकार प्रमुख वा मन्त्रीस्तरीय तहमा सहभागिता हुँदै छ । महासभाको उद्घाटन यूएनका महासचिव एन्टोनियो गुटेरेसले सेप्टेम्बर ५ मा गरिसकेका छन् । कोभिड–१९ को कारणले तीन वर्षअघिको महासभा भर्चुअल भएको थियो । त्यसपछिका दुईवटा महासभा पनि सीमित प्रतिनिधिको सहभागितामा गरिएको थियो ।
यस पटक महासभाका अध्यक्षता क्यारेबियन मुलुक ट्रिनिडाड एन्ड टोबागोबाट यूएनका लागि न्युयोर्कमा स्थायी प्रतिनिधि डेनिस फ्रान्सिस नियुक्त भएका छन् । महासभाको मुख्य सुरुवात भने सेप्टेम्बर १९ देखि हुने उच्चस्तरीय सम्बोधनबाट हुनेछ । यो महासभाको नारा ‘विश्वासलाई पुनःस्थापित गर्ने र विश्वव्यापी एकतालाई फेरि जागृत गर्दै सन् २०२० को एजेन्डा र दिगो विकासका लक्ष्यहरूलाई शान्ति, समृद्धि, प्रगति र दिगोपनका लागि गति बढाउँदै लैजाने काम गर्ने’ रहेको छ ।
महासचिव गुटेरेसले उद्घाटन समारोहमा गहिरो चुनौती र विभाजनको विश्वलाई चेतावनी दिनुपर्ने उल्लेख गर्दै यसले संयुक्त राष्ट्रसंघको परीक्षा गरिरहेको बताए । ‘दिगो विकासका लक्ष्य, जलवायु परिवर्तन, उत्पादनशील रोजगारी सिर्जना, महिला र युवाका लागि आर्थिक अवसरलगायत क्षेत्रमा काम गर्नुपर्छ,’ उनले भने । उनले प्रविधिमा द्रुत विकास सुनिश्चित गर्न एआई मानवताको मद्दतका लागि भएको बताए । महासभाका अध्यक्ष फ्रान्सिसले सदस्यमध्ये सबैभन्दा कमजोर मुलुकहरूलाई सशक्तीकरण गरेर शान्तिका लागि जोड दिन आग्रह गरे । उनको कार्यकाल एक वर्षको हुनेछ ।


