विपिन जोशीलाई हमास लडाकुहरूले लगेको प्रत्यक्षदर्शीहरुको भनाइ
इजरायलमा रहेका ४ सयभन्दा बढी नेपालीले स्वदेश फर्कनका लागि अनलाइन रजिस्ट्रेसन फाराम भरे
विपिनको खोजीका लागि इजरायल सरकारसँग विभिन्न तहमा आग्रह गरिरहेका छौं, प्रहरी र अस्पताललगायत सम्भावित सबै ठाउँमा खोजी तीव्र पारिएको छ । हमाससित सम्बन्ध भएका मुलुकहरूसँग पनि पहल भइरहेको छ ।
काठमाडौँ — इजरायलमाथि हमासको आक्रमण भएसँगै बेपत्ता भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको अवस्था पत्ता लगाउनका लागि सरकारले सम्भव भएसम्मका उपलब्ध संयन्त्रको परिचालन गरिरहेको जनाएको छ । त्यसका लागि हमाससँग सम्बन्ध भएका भनिएका मुलुकहरूसँग पनि कुरा भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
असोज १९ मा इजरायलमाथि प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने चार जना घाइते भएका थिए । सोही आक्रमणमा परेका जोशीको अवस्था भने अझै अज्ञात छ । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान संकायको अन्तिम सेमेस्टरमा अध्ययनरत जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । हमासको हमलापछि अज्ञात अवस्थामा रहेका उनको खोजीका लागि विभिन्न संयन्त्र परिचालन गरिएको मन्त्री साउदले बताए । ‘विपिनको खोजीका लागि कूटनीतिक क्षेत्रमा छलफल गरिराखेका छौं । उहाँको लोकेसन लोकेट गर्ने कोसिस भइरहेको छ,’ उनले भने, ‘इजरायल सरकारका विभिन्न तहसँग विपिनको खोजीका लागि आग्रह गरिरहेका छौं । प्रहरी र अस्पताललगायत सम्भावित सबै ठाउँमा खोजी तीव्र पारिएको छ । हमाससित असल सम्बन्ध भएका मुलुकहरूसँग पनि यसका लागि पहल भइरहेको छ ।’
विपिनका साथीहरूका अनुसार हमास लडाकुहरूले आक्रमण गर्दा उनी बंकरमा नै थिए । उनले हमासका लडाकुले प्रहार गरेको एउटा ग्रिनेडलाई हातैले टिपेर बंकरबाहिर फालेर साथीहरूलाई बचाएका थिए । विपिनलाई हमास लडाकुहरूले थाइल्यान्डका नागरिकसँगै लगेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । त्यही आधारमा सरकारले हमाससँग सम्बन्ध भएका मुलुकहरूसँग विपिनको अवस्थाबारे बुझ्न कूटनीतिक पहल गरेको हो । हमाससँग लेबनान, इरान, टर्किलगायतका मुलुकहरूको राम्रो सम्बन्ध रहेको बताइएको छ । हमाससँग राम्रो सम्बन्ध भएका कुन–कुन मुलुकसँग कूटनीतिक संवाद भइरहेको छ भन्नेबारेमा भने मन्त्री साउदले जानकारी दिएनन् । उनले परिणाम आएपछि त्यसबारे सबै कुरा सार्वजनिक गरिने उल्लेख गरे ।
त्यस्तै, परराष्ट्रमन्त्री साउदले इजरायलमा कार्यरत नेपालीमध्ये चार सयभन्दा बढीले नेपाल फर्किनका लागि ‘अनलाइन रजिस्ट्रेसन फाराम’ भरेको बताए । ‘स्वदेश फर्किन इच्छुकहरूलाई बिजेनस फ्लाइटमा ल्याउने गरी व्यवस्था गरिएको छ,’ मन्त्री साउदले कान्तिपुरसँग भने, ‘एकैपटक २ सय ५० भन्दा बढीको संख्यामा नेपाल फर्किन चाहने भएमा चार्टर्ड विमान पठाउने तयारी छ । त्यो संख्या नपुगे फर्किन चाहनेका लागि सरकारले आवश्यक टिकट र अन्य व्यवस्था गरिरहेको छ ।’ इजरायलमा ४५ सयभन्दा बढी नेपाली कार्यरत छन् । नेपाल सरकारले अवस्थामा परिवर्तन नआउन्जेलसम्म इजरायल जान रोक लगाएको छ । एडभाइजरी नै जारी गरेर इजरायल भ्रमणमा जान रोक लगाइएको हो ।
इजरायलले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीमध्ये ५ जनाको शव त्यहाँस्थित नेपाली दूतावासलाई बुझाइसकेको छ । इजरायलमा मृत्यु भएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली र आशिष चौधरीको शव नेपाली दूतावासलाई हस्तान्तरण गरिएको र बाँकी पाँच शव पनि हस्तान्तरणको प्रक्रियामा रहेको बताइएको छ । ‘सबै शव प्राप्त भइसकेपछि स्वदेश ल्याउने प्रक्रियामा जान्छौं,’ मन्त्री साउदले भने । हमासको आक्रमणमा परी घाइते भएका ४ नेपाली विद्यार्थीमध्ये २ जना अझै उपचाररत छन् । घाइतेमध्ये एक जना डिस्चार्ज भएर नेपाल आइसकेका छन् भने अर्का एक दूतावासको हेरचाहमा छन् ।
सरकारले असोज २६ मा इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको हवाई उद्धार गरेको थियो । इजरायलमा हमासको आक्रमण भएपछि स्वदेश फर्किन चाहेका विद्यार्थीलाई लिन परराष्ट्रमन्त्री साउद नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित इजरायल पुगेका थिए । उद्धार गरिएकामध्ये कृषि विश्वविद्यालयका १ सय १९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना विद्यार्थी थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ विद्यार्थीमध्ये १० जनाले हमासको आक्रमणमा परी ज्यान गुमाएका थिए । ईकान्तिपुर


