इजरायल र प्यालेस्टाइन एसियाको सबैभन्दा पश्चिमी क्षेत्र अर्थात चलनचल्तीको भाषामा मध्यपूर्वमा पर्ने देश हुन् । संयुक्त राष्ट्रसंघको २९ नोभेम्बर, १८४७ को विभाजन योजनाअनुसार १४ मे, १९४८ मा प्यालेस्टाइनभित्रै इजरायल देश बसाइएको हो । अहिले इजरायल र प्यालेस्टाइन दुई अलग देशका रूपमा रहेको भूमि त्यसअघिसम्म सिंगो प्यालेस्टाइन थियो । सन् १९४८ अघि पनि यो क्षेत्रमा यहुदी समुदाय बसोबास गरे पनि देशको अवधारणा थिएन ।
मुस्लिम राष्ट्रहरूको बीचमा इजरायल नामको यहुदी राष्ट्र स्थापना र मध्यपूर्वको एक शताब्दी लामो हिंसात्मक युद्धका पछि भने बेलायतको मुख्य भूमिका छ । वर्तमान समयमा इजरायललाई अमेरिकाले प्यालेस्टाइनी भूमिमाथिको अतिक्रमणमा आडभरोसा दिए पनि यो विवादको जननी तत्कालीन ब्रिटिस शासकहरू हुन् । जसरी झण्डै २ सय वर्ष शासन गरेपछि अंग्रेजहरूले सन् १९४७ मा दक्षिण एसियामा भारत र पाकिस्तानको विभाजन गरेर गए, त्यसरी नै मध्यपूर्वमा पनि त्यसको १ वर्षपछि प्यालेस्टाइन फुटाएर इजरायल र प्यालेस्टाइन बनाइयो । मध्यपूर्वको विवाद, हिंसा र निरन्तर युद्धको शृङ्खला त्यहीबाट सुरु हुन्छ ।
भारत र पाकिस्तानबीच काश्मिरलाई लिएर पटकपटक विवाद र युद्ध हुँदै आएको छ । ब्रिटिस उपनिवेश भएको काश्मिर त भारत, पाकिस्तान र चीन नियन्त्रित गरी तीन टुक्रामा विभाजित छ । काश्मिरलाई लिएर भारत र पाकिस्तानको विवादजस्तै प्यालेस्टाइन र इजरायलको विवाद पनि तत्काल हल हुने सम्भावना देखिँदैन । त्यसैले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वलाई बुझ्न अहिले के भइरहेको छ हैन, के भइरहेको छैन भन्ने बुझ्नुपर्छ ।

जब १९४८ सम्म देश नै थिएन भने त्यहाँ भएको देशलाई फुटाउँदा हुने अस्थिरता धान्न कठिन थियो । दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रको अत्याचारलाई वैधानिकता दिन र आफ्नो अनुकूलका योजना लागू गर्ने मुखुण्डो बन्यो, संयुक्त राष्ट्रसंघ । राष्ट्रसंघले नै २९ नोभेम्बर, १९४७ मा इजरायल र प्यालेस्टाइन विभाजनको खाका बनायो ।
प्यालेस्टाइनलाई फुटाएर ४४ प्रतिशत जमिनसहित इजरायल देश बन्यो भने प्यालेस्टाइनमा ४८ प्रतिशत जमिन राखियो । राजधानीसमेत रहेको जेरुसेलमको ८ प्रतिशत भूभाग राष्ट्रसंघ मातहत अन्तर्राष्ट्रिय शहरका रूपमा राखियो ।
जेरुसेलम मुस्लिम, इसाई र यहुदी तीनवटै धर्मको पवित्र स्थान मानिन्छ । इसाईहरूका अनुसार इसामसीहको जन्म भएको बेत्लहम जेरुसेलममा नै थियो । यहुदीहरूको तर्क झनै रोचक छ । इजरायल त्यही जमिन हो, जहाँ यहुदीका पहिलो पूर्वज अब्राहम र उनका वंशजलाई इश्वरले दिने बाचा गरेका थिए । अर्कोतिर जेरुसेलममा रहेको अल अक्सा मस्जिद मुस्लिम समुदायका लागि मक्का र मदिनापछिको सबैभन्दा पवित्र स्थान हो ।
संयुक्त राष्ट्रसंघले गरेको विभाजन योजनामा जानिबुझीकन यस्तो नक्सा तयार पारियो, जसले भविष्यमा युद्ध निश्चित बन्यो । भारत विभाजित हुँदा बंगलादेशलाई पूर्वी पाकिस्तान र हालको पाकिस्तानलाई पश्चिम पाकिस्तान बनाएजस्तै प्यालेस्टाइन पनि गोलन हाइटबाट वेस्ट बैंक र गाजा क्षेत्रमा सीमित गरियो । जहाँ तीनवटै क्षेत्रलाई जोड्ने बाटो राखियो ।
तर इजरायलको गठनलगत्तै सुरु भएको अरब इजरायल युद्धका क्रममा प्यालेस्टाइनको थप भूमि इजरायलले कब्जा गर्यो । सन् १९४८, १९५६, १९६७, १९७३, १९८२, १९८९ सम्मका युद्धमा इजरायलले प्यालेस्टिनी भूमि कब्जा गर्यो र अब करिब १० प्रतिशत भूमि मात्रै बाँकी रहेको छ । यहाँ पनि यहुदी बस्तीको विस्तार तीव्र रूपमा भइरहेको छ ।

सन् १९६७ को युद्धमा इजरायलले गोलन हाइट, इजिप्टको सिनाई प्रायद्वीप, गाजापट्टीको ठूलो हिस्सा, पूर्वी जेरुसेलमसहित वेस्ट बैंकका केही क्षेत्र पनि कब्जा गर्यो । सबैभन्दा रोचक कुरा त के छ भने कुनै समय शतप्रतिशत जमिन भएको प्यालेस्टाइनले सेना र हतियारसमेत राख्न पाउँदैन । विश्वकै शक्तिशाली हतियार, आइरनडोमनजस्तो प्रभावशाली एन्टीमिसाइल सिस्टम र बलियो सेना भएको इजरायलका सामू प्यालेस्टिनीहरू निरीह छन् । अहिले जति पनि प्यालेस्टाइनी क्षेत्रबाट आक्रमण हुन्छ, त्यो गाजापट्टीबाट हमासले गर्छ ।
हमासअघि यासिर अराफातको नेतृत्वमा प्यालेस्टाइन लिबरेसन अर्गनाइजेशन (पीएलओ) थियो । जसको मुख्य उद्देश्य प्यालेस्टिनीको आवाज उठाउनु, उनीहरूलाई पुनर्स्थापित गर्नु र सुरक्षा गर्नु थियो । यो संगठनले इजरायलसँग लामो संघर्ष गर्यो र सन् १९९३ मा ओस्लो सम्झौता भयो । जसमा प्यालेस्टाइनले इजरायललाई देशको रूपमा मान्यता दिने, पीएलओलाई इजरायलले प्यालेस्टिनी जनताको प्रतिनिधिका रूपमा स्वीकार गर्ने, प्यालेस्टाइन सरकारले वेस्ट बैंक र गाजापट्टीमा लोकतान्त्रिक सरकार चलाउने सम्झौता भयो । यो सम्झौतामा गुमेको प्यालेस्टाइनी भूमि फिर्ताको विषय सामेल नभएपछि सन् १९८७ मा स्थापना भएको हमासले सम्झौता अस्वीकार गरेर पुरै इलाका नियन्त्रण गर्ने घोषणा गर्यो । फतहले हमासलाई सरकारमा सामेल गर्न अस्वीकार गर्यो र दुई संगठनबीच गहिरो मतभेद सिर्जना भयो ।
सन् २००७ मा फतह गाजापट्टी छाडेर जान बाध्य भएपछि यो क्षेत्रमा हमासको एकाधिकार छ । हमासको नियन्त्रणपछि इजरायलले लगाएको नाकाबन्दीका कारण गाजापट्टीमा विद्युत्, पानी, खाद्यान्नको ठूलो संकट छ भने बेरोजगारी पनि रेकर्ड स्तरमा पुगेको छ । हमासले इजरायलमाथि साना रकेटहरूले हमला गर्छ । उता इजरायलले शक्तिशाली क्षेप्यास्त्रबाट गर्ने प्रत्याक्रमणका कारण गाजा क्षेत्र हरेक युद्धमा ध्वस्त भइरहेको छ भने ठूलो संख्यामा महिला, बालबालिका, सुत्केरी, वृद्धवृद्धाले समेत ज्यान गुमाइरहेका छन् । यसरी हुने प्रत्येक युद्धमा प्यालेस्टाइनी भूमि इजरायलले कब्जा गर्ने गरेको छ ।
अब एकपटक फेरि जेरुसेलमको चर्चा गरौँ । इसाई, इस्लाम र यहुदी तीनै समुदायले पवित्र स्थानका रूपमा लिने जेरुसेलममा रहेको अल अक्सा मस्जिदमा हुने विवाद इजरायल प्यालेस्टाइन युद्धको एउटा कारक हो । संयुक्त राष्ट्रसंघको विभाजन योजनाअनुसार यो क्षेत्र राष्ट्रसंघ मातहत रहेको अन्तर्राष्ट्रिय शहर हो । तर सन् १९६७ को युद्धमा जेरुसेलममाथि इजरायलले नियन्त्रण कायम गर्यो । आफ्नो मातहतमा रहेको यो भूमि इजरायलबाट फिर्ता लिनुपर्नेमा पश्चिमा राष्ट्रको बलमा इजरायलले थप भूमि कब्जा गर्दा पनि राष्ट्रसंघ निरीह र मुकदर्शक बनेर बस्यो । राष्ट्रसंघ नामको पश्चिमा मुखुण्डोको इजरायलसँगको लाचारीले उसलाई थप भूमि कब्जा गर्न हौसला दिइरहेको छ ।
जेरुसेलम विवादको अर्को प्रमुख पक्ष हो, शेख जराह । शेख जर्राह विवाद सन् १९४८ मा इजरायलको स्थापना अघिको हो । बेलायतले प्यालेस्टाइनी क्षेत्रमा देश स्थापना गरिदिने आश्वासन दिएपछि यहुदीले जेरुसेलमको शेख जर्राहमा जमिन किन्न थाले । अरबी समुदायसँगै यहुदीले महंगोमा जमिन किनेका थिए । प्यालेस्टिनीको यो क्षेत्र इजरायल र प्यालेस्टाइन बन्दा राष्ट्रसंघ अन्तर्गत रह्यो र पछि जोर्डनको नियन्त्रणमा आयो । जहाँ प्यालेस्टिनीको बसोबास छ । सन् १९६७ को युद्धमा यो क्षेत्र इजरायलको नियन्त्रणमा गयो र १९७० मा इजरायले यो जमिन इजरायलीको भएको भन्दै कानुन पारित गरेपछि प्यालेस्टिनी परिवारसँग लामो कानुनी विवाद भयो । दुई वर्षअघि इजरायली अदालतको आदेशमा प्यालेस्टिनीमाथि दमन गरिएपछि हिंसात्मक टकराब भयो र वेस्ट बैंकदेखि जेरुसेलममा रहेको अल अक्सा मस्जिद क्षेत्रमा समेत हिंसा फैलियो । हमासले ७ अक्टोबर, २०२३ मा गरेको हमला यही हिंसाको जवाफ स्वरूप गरेको बताएको छ । त्यसैले यसको नाम पनि ‘अपरेशन अल अक्सा फ्लड’ राखेको छ ।

शेख जर्राह विवाद बुझ्न एकपटक टर्कीको हागिया सोफियालाई बुझौँ । जसलाई केही वर्षअघि टर्कीले मस्जिदमा रूपान्तरण गरेको थियो । हागिया सोफिया रोमन सम्राट जस्टिनियन प्रथमको समयमा सन् ५३७ मा चर्चका रूपमा बनेको हो । ९ सय वर्ष चर्च रहेपछि टर्कीका सुल्तान मोहम्मद अल फतेहले हाजिया सोभिया चर्च खरिद गरे र मस्जिद बनाए । अटोमन साम्राज्यको पतनपछि धर्मनिरपेक्षताका पक्षपाती मुस्तफा कमाल अतातुर्कले ५ सय वर्ष मस्जिद रहेको हागिया सोफियालाई सन् १९३४ मा संग्रहालय बनाइदिए । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले ५ सय वर्षअघि किनेर मस्जिद बनाएको भन्दै यसलाई फेरि मस्जिद बनाए ।
इजरायलले शेख जर्राहमा लगाएको फर्मुला यही हो । जहाँको जमिन कुनै समय यहुदीले अरब समुदायसँग महंगोमा किनेका थिए । आफूहरूले किनेको भूमि भएकाले यहाँ प्यालेस्टिनीको बसोबासलाई अवैध घोषणा गरी प्यालेस्टिनीको उठिबास लगाइयो । जसलाई हमासले प्रतिरोध गर्यो ।
गाजा क्षेत्रमा हमासको नियन्त्रण छ भने वेस्ट बैंकमा फतहको शासन छ । हमासलाई इरान र वेस्ट बैंकलाई अन्य अरब देशहरूको समर्थन छ । हमासले इजरायलमाथि इरानमा बनेका कासम रकेटहरूले हमला गर्छ । जुन हतियार अरब सागरबाट रेड सी, इजिप्टको सिनाई प्रायद्वीप हुँदै गाजा क्षेत्रमा पुग्छन् । यी रकेटहरू त्यतिधेरै शक्तिशाली छैनन् । त्यसमाथि पनि इजरायलको आइरनडोम एन्टी मिसाइल सिस्टमले ९० प्रतिशत यस्ता रकेट आकाशमै ध्वस्त पारिदिन्छ । तर केही कासम रकेटको निशानामा सिंगो इजरायल परिसकेको छ ।

गत वर्ष ११ दिनसम्म चलेको युद्धमा हमासले इजरायलमा सबैभन्दा ठूलो क्षति पुर्याएको थियो । त्यसको तुलनामा गत ७ अक्टोबरमा गरेको हमलाले बढी क्षति पुगेको छ । बाराक ओबामा अमेरिकी राष्ट्रपति हुँदा पाकिस्तान र इरानसँग राम्रो सम्बन्ध थियो । यो समय हमासका लागि पनि सहज बन्यो । ओबामा लगत्तै राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले राष्ट्रसंघको मान्यतालाई समेत लत्याउँदै जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिए । यसले मध्यपूर्वमा अर्को हिंसाको सिर्जना गर्यो ।
जसरी अँध्यारो भएन भने लाइटको व्यापार हुँदैन, त्यसरी नै युद्ध नभए हतियारको कारोबार हुँदैन ।
एकातिर अमेरिकाले इरानसँग दुश्मनीपूर्ण सम्बन्ध बनाएर साउदी अरब मध्यपूर्वका देशलाई हतियार बेचिरहेको छ । सन् १९४७ मा बेलायतका कारण सिर्जना भएको मध्यपूर्वको हिंसामा यतिबेला अमेरिका प्रत्यक्ष रूपमा सामेल छ । हमासले गर्ने हरेक आक्रमणलाई देखाएर इजरायलले गाजा क्षेत्रमा अमानवीय हमलाबाट विध्वंस मच्चाइरहेको छ । अमेरिकासहितका राष्ट्रहरू आत्मरक्षा गर्नु इजरायलको अधिकार भएको बताउँछन् भने प्यालेस्टाइनको वेस्ट बैंक र गाजा क्षेत्रको विध्वंस, नरसंहार र असहाय प्यालेस्टिनीको चित्कारप्रति आँखा चिम्लिरहेका छन् ।
पहिलो विश्वयुद्धमा अटोमन साम्राज्यको पराजयपछि बेलायतको नियन्त्रणमा आएको प्यालेस्टाइनमा यहुदी र मुस्लिम समुदायबीचको टकराब अन्त्य गर्न बेलायतको असक्षमताबाट सुरु भएको मध्यपूर्वको संघर्ष तत्काल रोकिएर शान्ति बहाल हुने कुनै छाट देखिँदैन । शिलापत्र