गाजामा मानवीय सहयोग गर्न अपिल
द्वन्द्वले गाजा क्षेत्रबाट करिब १० लाख विस्थापित, स्वास्थ्य सेवा नपाउँदा हजारौं घाइते प्रभावित
जेरुसेलम — संयुक्त राष्ट्रसंघले सहायता एजेन्सीलाई गाजामा पहुँच दिन अपिल गरेको छ । यदि त्यहाँ सहायता पुर्याउन अवरोधमा भएमा युद्ध अपराध हुने चेतावनी राष्ट्रसंघले दिएको हो ।
मानव अधिकारका लागि राष्ट्रसंघकी उच्चायुक्तकी प्रवक्ता रविना श्यामदासनीले उत्तरी गाजाबाट स्थानीयलाई दक्षिणतर्फ स्थानान्तरणका लागि इजरायली सेनाले दिएको निर्देशनले मानवअधिकारको कानुन उल्लंघन हुने बताएकी छन् । उनले हमासको बन्धकमा रहेका इजरायलीको तत्काल रिहाइका लागि पनि आग्रह गरेकी छन् । राष्ट्रसंघले गाजा क्षेत्रमा सहायताका लागि अनुमतिको माग गर्दै आएको छ । तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासले पनि राफाह क्षेत्रबाट विस्थापितलाई इजिप्टतर्फ पार गर्न दिन र सहायताका लागि संघर्ष विराम गरेका रिपोर्टलाई खारेज गरेका छन् ।
इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीचको द्वन्द्वका कारण गाजा क्षेत्रका विस्थापितहरूको दैनिकी कष्टपूर्ण बनेको छ । उत्तरी गाजाबाट विस्थापित भएकामध्ये हजारौंको संख्यामा इजिप्टतर्फ जान राफाह क्षेत्रको सीमा पुगे पनि अनुमति नपाउँदा अलपत्र बनेका छन् । यस्तै, खान युनिस क्षेत्रमा पुगेका विस्थापितहरू एउटै घरमा ९० जनासम्म बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हमासले यही अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि जारी द्वन्द्वका कारण गाजा क्षेत्रबाट करिब १० लाख व्यक्ति विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । हमासको आक्रमणमा १ हजार ४ सय इजरायलीको मृत्यु भएको छ, जसमा २ सय ८६ जना सैनिक छन् । यस्तै, गाजा क्षेत्रमा इजरायलको आक्रमणका कारण मृत्यु हुनेको संख्या करब २ हजार ७ सय रहेको प्यालेस्टाइनका अधिकारीले जनाएका छन् । दुवै तर्फ गरी हजारौं व्यक्ति घाइते भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जारी द्वन्द्वका कारण उत्तरी गाजा क्षेत्रको मानवीय स्थिति बिग्रँदै गएको चेतावनी दिएको छ । मध्यपूर्व क्षेत्रका लागि संयुक्त राष्ट्रसंघको स्वास्थ्य संगठनका निर्देशक अहमद अल–मन्धारीले बमबारी भइरहेको र इजिप्टको सीमा राफाह क्षेत्रमा रहेका विस्थापितलाई सहयोगका लागि अनुमति दिनुपर्ने बताएका छन् ।
यदि सहायता दिन नसकिएमा ‘चिकित्सकले धेरै घाइतेको मृत्युको प्रमाणपत्र तयार गर्नुपर्ने’ उनको भनाइ छ । गाजा क्षेत्रका चिकित्सकले पनि गत आइतबार इन्धन र अन्य उपकरणको अभावमा धेरै घाइते मर्न सक्ने चेतावनी दिएका थिए । हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि जवाफी कारबाहीस्वरूप उत्तर गाजा क्षेत्रमा नाकाबन्दी गरेको हो, जसका कारण त्यहाँको जनजीवन कष्टपूर्ण बनेको छ । स्थानीय खानेपानी, विद्युत्, इन्धन र खाद्यान्न सामग्रीका लागि संघर्ष बाध्य छन् । अर्कोतर्फ इजरायलले उत्तरी गाजामा निरन्तरजसो मिसाइल आक्रमण गरिरहेको छ ।
हमासको बन्धकमा रहेकी महिलाको भिडियो सार्वजनिक
हमासको सेना अल कासम ब्रिगेडले इजरायलबाट बन्धक बनाएकाको पहिलो पटक भिडियो सार्वजनिक गरेको छ । गाजामा बन्धक बनाएर राखिएकी एक महिलाको भिडियो सार्वजनिक भएको हो । भिडियोमा उनले आफ्नो नाम माया सेम भएको बताएकी छन् । २१ वर्षीय उनी इजरायलको सोहम सहरकी हुन् । इजरायलमा आयोजित एक पार्टीबाट हमासले आफूलाई बन्धक बनाएको बताउँदै उनले आफ्नो रिहाइका लागि मद्दत मागेकी छन् ।
इजरायलको सेनाले पनि मायालाई हमासले अपहरण गरेको पुष्टि गरेको छ । साथै उनको परिवारसँग सम्पर्कमा रहेको पनि इजरायली सेनाले उल्लेख गरेको छ । ‘यतिबेला हामी सबै बन्धकमा परेकाको फिर्ताका लागि गोप्य जानकारी, अपरेसनल उपायमा काम गरिरहेका छौं,’ सेनाले भनेको छ । हमासको बन्धकमा १ सय ९९ जनासम्म रहेको अनुमान इजरायली सेनाले गरेको छ ।
क्षेत्रीय तनाव बढ्ने इरानको चेतावनी
इजरायलको सेनाले गाजामा जमिनबाट आक्रमण थाले क्षेत्रीय तनाव बढ्ने इरानले चेतावनी दिएको छ । यसअघि पनि इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनले इजरायल गाजा क्षेत्रमा प्रवेश गरे त्यसको दूरगामी असर पर्न सक्ने चेतावनी दिएका थिए । यस्तो अवस्था आउन नदिन संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्लगायत जिम्मेवार हुनुपर्ने इरानको भनाइ छ । इजरायल अमेरिकाको कठपुतली रहेको आरोप लगाउँदै हुसेनले अहिले अमेरिका सहयोगका लागि अघि आएको तर युद्ध बढेमा त्यसको असर उसले पनि भोग्नुपर्ने बताएका थिए ।
केही दिनअघि हमासका नेता इस्माइल हानियाले कतारमा इरानका विदेशमन्त्री हुसेनसँग भेटवार्ता गरेका थिए । वार्तामा मन्त्री हुसेनले हमासले गरेको आक्रमणको प्रशंसा गर्नुका साथै आगामी दिनमा सहयोग जारी राख्ने बताएका थिए । यद्यपि, इरानले इजरायलमाथिको आक्रमणमा आफ्नो प्रत्यक्ष संलग्नतालाई अस्वीकार गर्दै आएको छ ।
इजरायलले अब हवाईसँगै जमिन र सामुद्रिक रूपमा पनि गाजामा आक्रमण गर्ने जनाएको थियो । इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले एक वक्तव्य जारी गर्दै गाजामा अन्य माध्यमबाट पनि आक्रमण गर्ने जनाएको हो । आक्रमणका लागि आईडीएफका सैनिक गाजाको सीमा क्षेत्रमा पुगेका छन् ।
अरब लिगले गाजामा इजरायलकौ सैन्य अपरेसन तत्काल बन्द गर्न र सहायताका लागि अनुमति दिन आग्रह गरेको छ । ‘हामी इजरायलको सैन्य अपरेसन छिटो अन्त्य गर्न र सहायताका लागि सुरक्षित करिडोर खोल्नका लागि माग गर्छौं,’ अरब लिगका महासचिव अहमद अबुलले भने । एजेन्सी


