इरानमा महिलाअधिकारको वकालत गर्ने इरानी जेलमा रहेकी नोबेल पुरस्कार विजेता महम्मदीद्वारा अनसन तोडेको घोषणा
पेरिस । जेलमा रहेका इरानी नोबेल शान्ति पुरस्कार विजेता नार्गिस मोहम्मदीले अनसन तोडेका छन् । तेहरानको इभिन जेलमा रहेकी ५१ वर्षीया वरिष्ठ अधिकारकर्मी मोहम्मदीलाई ‘इरानमा महिलामाथि भइरहेको उत्पीडनविरुद्धको लडाइँका लागि’ अक्टोबरमा नोबेल पुरस्कार प्रदान गरिएको थियो । इरानमा अनिवार्य गरिएको तर अधिकारकर्मीद्वारा विरोध गरिएको हिजाब लगाउने शर्तलाई नमानिकन उनलाई उपचारका लागि अस्पतालमा भर्ना गराएपछि मोहम्मदीले अनशन तोडेको उनको पारिवारिक श्रोतले जनाएको छ ।
“अनिवार्य हिजाब नलगाई अस्पताल भर्ना भएपछि र महिला वार्डमा फर्केपछि मैले अनशन तोडेँ,” उनले भनिन्। मोहम्मदीको परिवारले सोमबार आफू र अन्य कैदीहरूको लागि चिकित्सा सेवाको सीमितता र इस्लामी गणतन्त्रमा महिलाहरूले सार्वजनिक रूपमा कपाल ढाक्नु पर्ने आवश्यकताको विरोधमा भोक हडताल सुरु गरेको बताएको छ ।
उनले हिजाब लगाउन इन्कार गरिरहने कसम खाएकी छन् । “महिलाको रूचीबिना नै हिजाब लगाउनु पर्ने कानून उन्मूलन नभएसम्म, म सडकमा यसरी नै हिंड्नेछु, र हिजाब बिना हामी महिलाहरूलाई हिँडेको देखेर तपाईंहरू थरथर काँप्नुहुनेछ,” उनले इरान सरकार र अधिकारीलाई सङ्केत गर्दै भनिन्।
पहिलो पटक २२ वर्षअघि पक्राउ परेकी मोहम्मदीले इरानमा मानव अधिकारका लागि अभियान चलाएको आरोपमा विगत दुई दशकको अधिकांश समय जेलभित्र र बाहिर बिताएकी छन् ।
सन् २०२१ को नोभेम्बरदेखि जेलमा रहेकी उनले आठ वर्षदेखि फ्रान्समा रहेका आफ्ना छोराछोरीसँग भेट गर्न पाएकी छैनन् । सन् २०२२ को सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको हिरासतमा मृत्यु भएपछि जेलबाट नै इरानमा महिनौं लामो विरोध प्रदर्शनको नेतृत्व गरेकी मोहम्मदीले नोबेल पुरस्कार दिने घोषणा गरिएको छ । रातोपाटि


