हमास , इजरायलको युद्धमा पाकिस्तान संकटमा
इस्लामावाद : एक महिनाभन्दा बढी समयदेखि जारी इजरायल र हमासबीचको युद्धमा गाजा पट्टी नराम्ररी ध्वस्त भएको छ भने विश्वका अन्य धेरै देश पनि यस युद्धबाट अप्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यस युद्धका कारण पाकिस्तानमा आउने ठूलो लगानी रोकिएको छ । यो ७० अर्ब डलरको ठूलो रकम फँसेपछि पाकिस्तानका शासकहरुको समस्या बढेको छ । तर, ढिलो भए पनि यो लगानी पाउनेमा पाकिस्तान आशावादी छ । यस सम्बन्धमा पाकिस्तानको विशेष लगानी सहजीकरण परिषद् (SIFC) को राष्ट्रिय संयोजक डा मोहम्मद जहानजेबबाट एक बयान आएको छ। जहानजेबले गाजा युद्धका कारण पाकिस्तानमा आउने ७० अर्ब डलरको लगानीमा ढिलाइ हुने बताएका छन् । यो लगानी मध्यपूर्वका देशबाट पाकिस्तानमा आउने हो ।
डा. मुहम्मद जहानजेब खानले मध्यपूर्वी देशबाट पाकिस्तानमा लगानी आउन ढिलाइ भएकोमा चिन्ता व्यक्त गर्दै गाजामा जारी द्वन्द्वलाई जिम्मेवार ठहर गरेका छन् । जहानजेब खानले मध्यपूर्वी देशहरूले गाजाको स्थितिमा आफ्नो ध्यान केन्द्रित गरेको बताएका छन्। यसले खाडी सहयोग परिषद् (GCC) देशहरूबाट प्रस्तावित लगानीको टाइमलाइनलाई असर गर्न सक्छ। जहाँजेबले एसआईएफसी जीसीसी देशहरूको सिफारिसमा स्थापना भएको बताए। जसको उद्देश्य लगानी प्रक्रियालाई सरल बनाउनु थियो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको बैठकमा एसआईएफसीको भूमिकाबारे जानकारी दिँदै उनले विभिन्न मन्त्रालयहरूलाई ब्याकअप प्रदान गर्ने सहयोगी निकायको रूपमा काम गर्ने बताए।


