हमासको सुरुङमा आक्रमण गरिएको इजरायलको दाबी
इजरायली प्रतिरक्षा फौज (आईडीएफ) ले गाजास्थित अल सिफा अस्पताल परिसरमा रहेको हमासको सुरुङ पत्ता लगाएर आक्रमण गरेको दाबी गरेको छ । आईडीएफका अनुसार अल सिफा अस्पताल परिरसमा मात्रै नभइ अन्य अस्पतालमुनि पनि त्यस प्रकारको सुरुङ भेटिएको छ ।
आईडीएफका अनुसार रान्तिसी अस्पताल तथा अल–कुद्स अस्पतालबाट ठूलो परिमाणमा हतियार र गोलाबारुद फेला परेको छ । सामाजिक सञ्जाल एक्समा साझा गरिएको पोस्टमा आईडीएफले भनेको छ, ‘गाजाको तीन सबैभन्दा ठूला अस्पतालमा हमासको शोषणको अर्को तहको पर्दाफास भएको छ, सिफा अस्पताल परिसरभित्र हमासको सुरुङ भेटियो ।’ अर्को पोस्टमा भनिएको छ, ‘रान्तिसी अस्पतालभित्र आईडीएफ सैनिकहरूले अर्को एउटा सुरुङ पत्ता लगाएका छन् ।’
आईडीएफका अनुसार सालदाग एसएफ एकाइ, सातौं ब्रिगेड र अतिरिक्त एसएफ एकाइहरूले सिफा अस्पतालभित्र हमासको सुरुङ पूर्वाधारको पर्दाफास गरेक हुन् । ‘उनीहरूले गत अक्टोबर ७ मा नरसंहारका लागि तयार गरिएको बुबी–ट्र्याप सवारी पनि पत्ता लगाएका छन्, उक्त सवारीमा ठूलो मात्रामा हतियार र गोलाबारुद थिए ।’
इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासले बन्धक बनाएकाहरुलाई अस्पताल परिसर भित्रै राखेको गोप्य सूचना प्राप्त भएपनि त्यहाँको सुरुङ पत्ता लाग्नुपूर्व नै बन्धकहरूलाई अन्त सारिसकिएको देखियो ।


