न सम्बन्ध छ न सम्बन्धबिछेद
आजभन्दा तीन वर्षअघि ठ्याक्कै दसैंको बेला पारेर तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता गर्ने सहमति जुटेको थियो । दसैंका बेला दिइएको ‘सरप्राइज्ड’लाई सुरुमा मानिसहरुले पत्याएनन् र प्रश्न गरे, एमाले–माओवादी मिलेकै हुन् त ?
तीनवर्षयता काठमाडौंको टुकुचामा धेरै पानी बगिसकेको छ । ‘एकता भएकै हो र ?’ भन्नेहरुले अब ‘पार्टी फुटेको हो र ?’ भन्ने प्रश्न गर्न थालेका छन् ।
शनिबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुराना नेता सासंद विजय सुब्बाले सार्वजनिकरुपमै प्रश्न गरे, ‘के पार्टी फुटेको हो ? के अब अल्पमत र बहुमतका आधारमा पार्टी चल्ने बाटो खुला भएको हो ?’
सांसद सुब्बाले सामाजिक सञ्जालमा यस्तो प्रश्न सोध्दै गर्दा अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशलाई दिएका बेग्लाबेग्लै निर्देशन (पत्र)हरु पनि फेसबुकमा पोष्ट गरेका छन् ।
बेग्लाबेग्लै सर्कुलर
नेकपाका अध्यक्षद्वयले कर्णाली प्रदेश कमिटी र त्यहाँको सरकारमा मुख्यमन्त्रीलाई बेग्लाबेग्लै सर्कुलर पठाएका छन्, जसले पार्टीभित्र द्वैधसत्ता सुरु भइसकेको प्रमाणित गरेको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले यही कात्तिक ५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेर गुलाबजंग शाहलाई मुख्य सचेतकमै पुनःस्थापित गर्न निर्देशन दिएका थिए । त्यसको दुई दिनपछि शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्डले मुख्यमन्त्री शाहीसहितका नेताहरुलाई पत्र पठाएर आन्तरिक विवाद आफैं मिलाउन भनेका छन् ।
प्रचण्डको पत्र पाएकै दिन मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फेल भयो । तर, ओलीको निर्देशन भने प्रदेश कमिटीले मानेन ।
ओलीनिकट नेता एवम् कर्णाली प्रदेशसभा सांसद यमलाल कँडेलसहितका नेताहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव प्रमुख सचेतक गुलाबजंग शाहलाई बुझाएका थिए ।
शाहसमेत अविश्वासको प्रस्तावको पक्षमा भएपछि मुख्यमन्त्री शाहीले उनलाई पदबाट हटाएर प्रमुख सचेतकको जिम्मेवारी सीता नेपालीलाई दिएका थिए ।
नेकपाभित्रको यो विवाद मिलाउने प्रयासमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । छलफलपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गर्ने र गुलाबजंग शाहलाई प्रमुख सचेतकमा पुनःस्थापित गर्ने लगायतका चार बुँदे सहमति भएको भन्दै प्रेस नोट सार्वजनिक गरेका थिए ।
त्यसलगत्तै प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल) पनि प्रेस नोट सार्वजनिक गर्दै ओलीसँग कुनै सहमति नभएको र विवाद मिलाउने जिम्मा कर्णालीको पार्टी कमिटीलाई नै दिइएको जानकारी दिएका थिए । श्रोत अनलाइन खबर



