हतियार खरिदमा घोटाला गरेको आरोपमा उच्च युक्रेनी सैनिक अधिकारी पक्राउ
किभ । हतियार किन्दा घोटाला गरेको आरोपमा युक्रेनको रक्षा मन्त्रालयका एक उच्च अधिकारी पक्राउ परेका छन् । युक्रेनी सैनिकका लागि हतियार खरिदमा ४० मिलियन डलर बराबरको घोटाला गरेको आरोपमा त्यहाँको प्रहरीले रक्षा मन्त्रालयका एक उच्च अधिकारीलाई पक्राउ गरेको हो ।
पक्राउ गरिएका व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन । सिएनएनका अनुसार गत वर्षको डिसेम्बरमा ती अधिकारीले एक कम्पनीसँग हतियार खरिद सम्झौता गरेका थिए। युक्रेनको सुरक्षा सेवाका अनुसार हतियार खरिद गर्दा ती अधिकारीले वास्तविकभन्दा बढी मूल्य राखेको र सो अनुसार ४० मिलियन अमेरिकी डलर ट्रान्सफर गरिदिएका थिए ।
एसबियुले त्यससँग सम्बन्धित कागजातहरू समेत भेटेको बताएको छ । हतियार खरिद सम्झौतामा घोटाला भएको पुष्टि भए ती अधिकारीलाई कम्तिमा १५ वर्ष जेल सजाय हुने एसबियुले बताएको छ ।
भ्रष्टाचारको आरोप लागेपछि गत सेप्टेम्बरमा मात्रै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रक्षा मन्त्री ओलेक्सी रेज्निकोभलाई बर्खास्त गरेका थिए ।


