नेकपा बिवाद झन चर्किदै,मन्त्रीहरु पदिय भागबन्डामा तनाव
चार महिनाको छिनाझपटीपछि फेरि विवाद नहुने गरी मिलेको भनिएको नेकपाभित्रको सहमतिबारे नेता घनश्याम भुसालले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकमा भनेका थिए, ‘यो सहमति ब्रेन ट्युमरका बिरामीलाई निको पार्छु भनेर टाउकामा घस्ने नुरानीको तेल लगाइदिएजस्तै हो ।’
भुसालकै जस्तै सार थियो– स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल, रघुजी पन्त र मातृका यादवको पनि । उनीहरूले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा शक्ति बाँडफाँट गर्ने गरी विवाद समाधान गर्न बनेको कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव र त्यही आधारको अध्यक्षद्वयको प्रतिवेदनलाई तात्कालिक युद्धविरामको संज्ञा दिएका थिए तर प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल पक्षधर अधिकांश नेताहरू उक्त सहमतिबाट उत्साहित भए । विभाजनको संघारमा पुगेको पार्टीलाई जोगाएको र अब कोरोना नियन्त्रणमा समेत पार्टीको ध्यान केन्द्रित गर्ने उनीहरूको भनाइ थियो ।
अध्यक्षद्वयले पनि आन्तरिक विवाद सुल्झियो भनेर नेकपाले गत भदौ २६ लाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय (कट अफ डेट) का रूपमा व्याख्या गरे । पार्टी केन्द्रीय सदस्यहरूलाई सर्कुलर पठाउँदै उनीहरूले सोही दिनदेखि पुनः त्यस प्रकारको अन्तरविरोधपूर्ण विवाद नगर्ने प्रतिबद्धता जनाए ।
नेकपाको सचिवालय बैठकसमेत जनवर्गीय संगठनहरूको कार्यालय पेरिसडाँडामा बस्यो, जसलाई कार्यकारी अधिकार पाएका अध्यक्ष पुष्पकमल दाहालको भूमिका बढेको देखाउन नेकपाले दिएको सन्देशका रूपमा व्याख्या गरिएको थियो । उक्त बैठकमा सरकार पुनर्गठन र राष्ट्रिय सभा सदस्यमा मनोनीत वामदेव गौतमलाई मन्त्री बनाउन हुन्छ कि हुन्न भन्ने विषयमा लामो छलफल चल्यो ।
त्यसपछि नेकपामा सचिवालय बैठक कम र अध्यक्षद्वयबीच छलफल धेरै हुन थाले तर जति धेरै छलफल भयो, त्यति नै विवाद बल्झिँझिएको छ । इकान्तिपुर बाट



