मद्रास उच्च अदालतद्वारा गैरहिन्दुलाई मन्दिर जान राेक, भन्यो– ‘मन्दिर पिकनिक स्पट होइन’
नयाँ दिल्ली । मद्रास उच्च अदालतले सबै हिन्दु मन्दिरमा झन्डा राखिएको ठाउँबाट अगाडि नजान गैर हिन्दुहरूलाई रोकेको छ । अदालतले मन्दिरमा नजाने सन्देशसहितको बोर्ड राख्न तमिलनाडु सरकारलाई आदेश दिएको हो । हिन्दुहरूलाई उनीहरूको धर्म मान्ने र यसको पालना गर्ने मौलिक अधिकार भएको पनि अदालतले बताएको छ । अरुलमिगु पलानी धनदायुथापानी स्वामी मन्दिरमा हिन्दुहरूलाई मात्रै जान दिइयोस् भन्ने अनुमति माग्दै दायर भएको याचिकामा सुनवाइ गर्ने क्रममा अदालतले यस्तो निर्णय गरेको हो । मन्दिरको निश्चित बिन्दुबाट अगाडि गैर–हिन्दुहरू नजाउन भन्ने सुनिश्चित गर्न भनिएको छ । गैर हिन्दुहरू मन्दिरमा जान चाहन्छन् भने त्यहाँ रहेका देवी देवतालाई मान्छु र हिन्दु धर्मको रीतिरिवाजको पालना गर्छु भन्ने औपचारिक लिखित वाचा माग्न र यस्तो वाचा बिना गैर हिन्दुहरूलाई मन्दिरमा छिर्न नदिन पनि अदालतले भनेको छ ।
हिन्दुहरूलाई आफ्नो धर्म पालना गर्ने अधिकार भएको पनि अदालतको भनाई छ । मन्दिर पिकनिक खान जाने वा घुमफिरका लागि जाने ठाउँ नभएको अदालतको भनाई छ । ‘मन्दिर कुनै पिकनिक स्पट वा पर्यटक स्थल होइन । अन्य धर्मका मानिसहरू मन्दिरको आर्किटेक्चर हेर्ने र बुझ्ने सहुलियत हुनेछ तर यसका लागि झन्डा लगाइएको ठाउँभन्दा टाढा जान जरुरी छैन ।’ रातोपाटि


