बर्दियामा आउँदो साउन २५ गतेदेखि निषेधाज्ञा गरिने

कोरोना संक्रमण समुदायस्तरमा केही व्यक्तिमा देखिएपछि बर्दियामा आउँदो आइतबार साउन २५ गतेदेखि निषेधाज्ञा गरिने भएको छ ।
थप संक्रमण फैलिँदै जान सक्ने खतरा बढ्ने भन्दै सतर्कता अपनाउँदै नियन्त्रण गर्न आइतबारदेखि ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको हो । साउन २५ गते बिहान ६ बजेदेखि साउन २९ गते बिहीबारसम्म ५ दिन निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । सबैभन्दा बढी आउजाउ गरिने छिमेकी जिल्ला बाँकेमा कोरोना संक्रमित समुदायस्तरमा बढ्न थालेपछि नियन्त्रणका लागि बर्दियामा पनि निषेधाज्ञा गरिएको उहाँले बताउनुभयो ।
अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्क अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई आग्रह समेत गरिएको उहाँले जानकारी दिनुभयो । बर्दियामा ८ वटै पालिकाको सहयोगमार्फत पिसिआर परीक्षण उपकरण जडान गर्ने यसअघिको निर्णयलाई तत्काल कार्यान्वयनमा ल्याउन र छिटोभन्दा छिटो पिसिआर जडान गरि पिसिआरको दायरा बढाउने तयारी गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।
बर्दियामा अहिलेसम्म २ सय ६२ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । ती सबै संक्रमित सामान्य खालका रहेको र लक्षण नदेखिएको उहाँले जानकारी दिनुभयो ।



