५ असार २०८३, शुक्रबार

जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३४ औं स्मृति दिवस

एसीपी संवाददाता

४ श्रावण २०७७, आईतवार ०४:४७ मा प्रकाशित

मुलुकभर विभिन्न कार्यक्रम गरी जननायक विश्वेश्वरप्रसाद कोइरालाको ३४ औं स्मृति दिवस बिहीबार मनाइँदैछ ।  नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । 

 नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छवटा उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छ । 

 वरिष्ठ अधिवक्ता गणेशराज शर्मासँगको वार्तामा आधारित ‘आत्मवृत्तान्त’, सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित ‘जेल जर्नल’, २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैँ सुन्दरीजल बन्दीगृहमा लगिएपछि लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ ले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेको छ ।

  ज्ञाननिष्ठ ज्ञवालीको सम्पादनमा प्रकाशित सिसार पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ विषयक निबन्धलगायत रचना प्रकाशित छन् ।  जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। प्रधानमन्त्रीत्व कालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाए ।  

विस २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो ।  विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वाचित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किएका थिए ।

उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।  प्रजातान्त्रिक समाजवादका चिन्तक एवम् प्रयोक्ता कोइरालाले स्वतन्त्र रुपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पु¥याउन योगदान दिए ।  प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवम् मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्द गृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरियो । 

 बिपीको जीवनका महत्वपूर्ण चीजबीजको सङ्कलन गरी दर्शनीय बनाइएको सङ्ग्रहालय गतवर्ष वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको छ । सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ को क्रान्तिमा प्रयोग गरिएको ट्याङ्कर, कांग्रेसले २०२९ सालमा क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायुसेवा निगमको विमान पनि राखिएको छ ।  बिपी स्मृति दिवसका अवसरमा कांग्रेस, भातृ संस्था र बिपी सङ्ग्रहालयले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए ।सभार-बह्रखरी समाचार राससबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x