विपी अध्ययन प्रतिष्ठानद्धारा स्वास्थ्य सामाग्री वितरण तथा जनचेतना मुलक कार्यक्रम

नेपालगन्ज, साउन १७- विपी अध्ययन प्रतिष्ठान बाँकेले भेरी अस्पताल नेपालगन्जका बिरामीलाई स्वास्थ्य सामग्री वितरण तथा जनचेतना मुलक कार्यक्रम गरेको छ । ३८ औं विपी स्मृति दिवसको उपलक्ष्यमा प्रतिष्ठानले शनिबार उक्त कार्यक्रम गरेको हो ।

भेरी अस्पताल परिसरमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले स्वर्गिय विपी कोइरालाका सिद्धान्त अहिले पनि उत्तिकै सान्र्दभिक रहेको बताउनु भयो ।

विपी स्मृति दिवसको उपलक्ष्यमा प्रतिष्ठानले गरेको कार्यक्रम निकै सान्र्दभिक रहेको औल्याउनु भयो । ‘कोरोना भाइरस महामारीलाई मध्यनजर गरेर प्रतिष्ठानले गरेको कार्यक्रम एकदमै सान्र्दभिक छ, स्वर्गिय विपी कोइरालाले पनि गरिव, विपन्न, दुःखी, बिरामीको सेवा गर्न रुचाउनु हुन्थ्यो,’ उहाँले भन्नुभयो ।

प्रतिष्ठान बाँकेका अध्यक्ष सुधान्सु कोइरालाले विपीको विचार अहिले पनि ताजै रहेको बताउनु भयो । उहाँले विपीका विचार अझैपनि कार्यान्वयनमा आउन नसकेको धारणा राख्नु भयो । भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर खगेन्द्र जंग शाहले विपी स्मृति दिवसको अवसरमा प्रतिष्ठानले अस्पतालका बिरामीलाई सम्झेर गरेको कार्यक्रमको खुलेरै प्रशंसा गर्नुभयो ।

कोरोना भाइरसलाई लक्षित गरेर अस्पतालका बिरामीलाई वितरण गरिएको स्वास्थ्य सामग्री तथा जनचेतना मुलक कार्यक्रम उपयोगी मुलक भएको बताउनु भयो ।

प्रतिष्ठान बाँकेका सचिव आशिष वर्माका अनुसार करिव डेढ सय जना बिरामीलाई स्यानिटाइजर, मास्क, बिष्कुट, कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक पम्पलेट वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी कोइरालाले अस्पतालका निमित्त मेसु शाहलाई उक्त सामाग्री हस्तान्तरण गरिसकेपछि बिरामीलाई वितरण गरिएको थियो ।

कार्यक्रम सञ्चालन प्रतिष्ठान बाँकेका उपाध्यक्ष तोजिन्द्र बिकले गर्नु भएको थियो । उक्त कार्यक्रम लगत्तै नेपालगन्जको ट्राफिक चोकमा एक वर्ष अघि गरिएको बृक्षारोपनको निरीक्षण तथा सरसफाई गरिएको अध्यक्ष कोइरालाले जानकारी दिनु भएको छ ।



