टेक्सासको ह्युजटनमा रहेको महावाणिज्य दूतावास बन्द गर्न चीनलाई तीन दिनको समय-अमेरिका

अमेरिकाले चीनलाई भन्यो- ७२ घन्टाभित्र ह्युजटनको महावाणिज्य दूतावास बन्द गर्नूचीनले पनि वुहानमा रहेको अमेरिकी कन्सुलेट बन्द गर्न लगाउने
अमेरिकाले टेक्सासको ह्युजटनमा रहेको महावाणिज्य दूतावास बन्द गर्न चीनलाई तीन दिनको समय दिएको छ।
दुई देशबीचको तनाव चुलिएका बेला अमेरिकाको वौद्धिक सम्पत्ति र सूचनाको रक्षा गर्न उक्त महावाणिज्य दूतावास बन्द गर्न भनिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
‘अमेरिकी वौद्धिक सम्पत्ति र अमेरिकीको व्यक्तिगत सूचना बचाउन बन्दको आदेश दिइएको हो,’ विदेश मन्त्रालयका मोर्गन अर्टागसले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ जनवादी गणतन्त्र चीनद्वारा हाम्रो सार्वभौमिकता उल्लंघन गर्ने र हाम्रा नागरिकलाई त्रसित पार्ने कदम अमेरिकाले सहँदैन जसरी हामी चीनको अन्यायपूर्ण व्यापार, अमेरिकी रोजगारीको चोरी र अहंकारी व्यवहार सहन्नौं।’
बेइजिङले वासिङ्टनको उक्त निर्णयको भत्सर्ना गर्दै जवाफी कदम चाल्ने बताएको छ। बदलामा चीनले वुहानमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्ने तयारी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
‘छोटो समय दिएर ह्युजटनको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्ने अमेरिकाको एकपक्षीय निर्णय यसअघि कहिल्यै गरिएको थिएन यो चीनविरूद्ध पछिल्लो समय चालिएका कदमको विस्तार हो,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले भने,‘यो गलत निर्णय तत्काल फिर्ता लिन हामी अमेरिकालाई आग्रह गर्छौं। नत्र चीनले जवाफी कदम चाल्नेछ।’
पछिल्लो समय अमेरिकाले चिनियाँ कूटनीतिज्ञ, महावाणिज्य दूतावासका कर्मचारीले अभद्र व्यवहार गरिरहेकोसमेत उनले आरोप लगाए। चिनियाँ विद्यार्थीलाई डराउने, पुछताछ गर्ने, उनीहरूका विद्युतीय सामग्री खोस्ने र हिरासतमा समेत लिने गरेको वेनविनको भनाइ छ।
यसअघि ह्युजटनको चिनियाँ महावाणिज्य दूतावासका केही कागजात जलाइएको बताइएको छ। सभार- सेतोपाटी



