१३ जेष्ठ २०८३, बुधबार

सुदूरपश्चिमका २७८५ संक्रमित घर र क्वारेन्टिनमा, ८५ जना मात्रै अस्पतालमा

एसीपी संवाददाता

२५ असार २०७७, बिहीबार ०२:०० मा प्रकाशित

कैलाली : सुदूरपश्चिमका विभिन्न अस्पतालबाट नौँ सय ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा बुधवार साँझ नौँ सय ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। उनका अनुसार बुधवार मात्रै अछामका ५५ जना संक्रमितलाई अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि बैतडीका दुई सय ५२, डडेल्धुराका एक सय ८८, डोटीका एक सय ५७, अछामबाट एक सय ४५, कञ्चनपुरका एक सय तीन र कैलालीका ९९ जना संक्रमितलाई अस्पताल र क्वारेन्टिनबाट डिस्चार्ज गरिएको छ। यस्तै बझाङबाट ३४, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ। कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन्। यस्तै सुदूरपश्चिम प्रदेशका ८५ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ४१, महाकाली अस्पतालमा १८, अछाम अस्पतालमा १०, सेती अस्पतालमा नौँ, मालाखेती अस्पतालमा तीन, डोटी र बाजुरा अस्पतालमा दुई÷दुई जना गरी एक सय एक जनाको उपचार भईरहेको छ। सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ भने दुई हजार सात सय ८५ जना संक्रमित भने आफ्नै घर र विभिन्न क्वारेन्टिनमा रहेका छन्। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या तीन हजार ८ सय ७१ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x