१ श्रावण २०८३, शुक्रबार

नेपालमा तिब्बती धार्मिक नेताहरु द्धारा दलाई लामाको ८५ औं जन्मदिन मनाए

एसीपी संवाददाता

२३ असार २०७७, मंगलवार ०४:३० मा प्रकाशित

नेपालमा रहेका तिब्बतीले धार्मिक नेता दलाई लामाको ८५ औं जन्मदिन सुटुक्क मनाएका छन्। न उनीहरूले नेपालमा रहेका कूटनीतिक वृत्तलाई निमन्त्रणा गरे न त सरकारलाई नै जानकारी दिए।

कोरोना संक्रमण जोखिमको कारण देखाउँदै उनीहरूले सोमबार बौद्धस्थित सेटलमेन्ट अफिसमा सट्याकसुटुक्क दलाईको जन्मोत्सव मनाएका हुन्। कार्यक्रममा दलाईका प्रतिनिधि एवं नेपालस्थित तिब्बती शरणार्थी शिविरका संयोजक छुल्त्रिन ग्यात्सोसहित १५ जना तिब्बती अगुवा सहभागी थिए। लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले जन्मोत्सव कार्यक्रमको संयोजन गरेको थियो।

संयोजक ग्यात्सोले सामान्य कार्यक्रम गरी धर्मगुरुको जन्मोत्सव मनाइएको बताए। ‘राजनीतिक अभिप्रायले कार्यक्रम आयोजना गरिएको होइन’, उनले अन्नपूर्णसँग भने, ‘धार्मिक आस्थाका कारण लामाको जन्मदिन मनाएका हौं।’

नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ। चीनविरोधी हुने भन्दै सरकारले तिब्बती शरणार्थीका गतिविधिमा रोक लगाउँदै आएको छ। विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा दलाईको जन्मदिन मनाउने गरेका छन्। उनीहरूले विगतमा कूटनीतिक क्षेत्रका प्रतिनिधिको उपस्थितिमा सार्वजनिक स्थलमा कार्यक्रम गरेका थिए। त्यसका लागि सरकारले कुनै वर्ष अनुमति दिन्थ्यो त कुनै वर्ष रोक लगाउँथ्यो। यसपटक आफ्नो कार्यालय परिसरमै कार्यक्रम गरिएकाले सरकारसँग अनुमति नलिएको जनाइएको छ।

बौद्धस्थित तिब्बतीको कार्यालय (सेटलमेन्ट अफिस)स्थित कम्युनिटी हलमा उपस्थित तिब्बतीले दलाईको तस्बिरमा पूजा गरी सुस्वास्थ्यको कामना गरे। उनीहरूले दलाईका नाममा दीप प्रज्वलन गरे। कोराना भाइरस नियन्त्रण होस् भनेर विशेष पूजासमेत लगाए।

प्रतिकूल अवस्थाका कारण यसपटक उनीहरूले कूटनीतिक क्षेत्रका प्रतिनिधिलाई नबोलाएका हुन्। अमेरिकी दूतावासले भने आफ्नो फेसबुक पेजमार्फत १४ आंै दलाई लामालाई ८५आंै जन्मदिनको शुभकामना दिएको छ।

तिब्बतीले यसपटक लामाको जन्मदिन मनाउन कुनै तामझाम गरेका थिएनन्। विगतमा अमेरिका, बेलायत, जापान, स्विठ्जरल्यान्ड, भारत, युरोपेली संघलगायत मुलुकका राजदूत र तिनका प्रतिनिधिलाई निमन्त्रणा गरिन्थ्यो। तिब्बती समुदायले फागुनमा मनाएको ल्होसारमा भने नेपालमा रहेका कूटनीतिक समुदायका प्रतिनिधिको बाक्लो उपस्थिति देखिएको थियो। लकडाउन कायमै भएका कारण नेपाल सरकारले लगाएको नियमबमोजिम थोरै संख्यामा उपस्थित भएर दलाई लामाको जन्मोत्सव मनाइएको ग्यात्सोले बताए।

गृह मन्त्रालयले गत वर्ष तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको थियो। तिब्बती समुदायले गत वर्ष स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा कार्यक्रम गर्ने तयारी गरेको थियो। उनीहरूले २०७५ सालमा जाउलाखेलमा गरेको कार्यक्रममा भने कूटनीतिक समुदायको बाक्लो उपस्थिति थियो।

बौद्धमा २०७२ मा जन्मोत्सव मनाइरहेका बेला प्रहरीले हस्तक्षेप गरेपछि बीचमै कार्यक्रम रोकिएको थियो। त्यस बेला ताम्दिङ दोर्जे तुलाधर नेपालस्थित शरणार्थी शिविरका संयोजक थिए। तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले तिब्बतीको कार्यक्रममा रोक लगाएका थिए। राष्ट्रपति अघिल्लो वैशाखमा चीन भ्रमणमा रहँदा दलाई लामासम्बन्धी विदेशी समाचार राष्ट्रिय समाचार समितिमा अनुवाद गरेर राखेको भन्दै सरकारले पत्रकारलाई कारबाही गरेको थियो। सभार – अन्नपुर्ण पोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x