भारत सरकारको आर्थिक सहयोगमा इलाममा संस्कृत विद्यालय उद्घाटन

भारत सरकारले तीन करोड ११ लाख ३० हजारको लागतमा सीमावर्ती जिल्ला इलामको बरबोटेस्थित सप्तमाई गुरुकुल संस्कृत विद्यालय निर्माण गरिदिएको छ । सोमबार बरबोटे गाउँपालिका, विद्यालय व्यवस्थापन समिति र भारतीय दूतावासका प्रतिनिधिबीच भिडियो कन्फ्रेन्समार्फत विद्यालय भवन उद्घाटन भएको भारतीय दूतावासले जनाएको छ ।
०६६ सालसम्म प्राथमिक विद्यालयको रूपमा स्थापित संस्कृत विद्यालय ०७२ सालमा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । विद्यालयमा विद्यार्थीहरूलाई वैदिक तथा आधुनिक शिक्षा संस्कृत भाषामा पनि अध्यापन गराइएको छ । इलामसँग जोडिएका अन्य जिल्लाहरूबाट आएका विद्यार्थीका लागि विद्यालयमा आवासीय सुविधासमेत हुने गरी विद्यालय भवन निर्माण भएको भारतीय दूतावासका प्रवक्ता अभिषेक दुबेले जानकारी दिए ।

भारत सरकारको आर्थिक सहयोगमा निर्मित चारतले भवनमा विद्यालय तथा छात्रावास ब्लक रहेका छन् । जसमा दशवटा कक्षाकोठा, आवासीय विद्यार्थीका लागि नौवटा शयन कक्ष, चारवटा अध्ययन कक्ष, वार्डेन कार्यालय, एउटा बैठक कक्ष, एउटा साझा हल, तीनवटा भण्डारण कक्ष र प्रत्येक तलामा छात्र र छात्राका लागि छुट्टै सरसफाइका सुविधाहरू उपलब्ध छन् । र, जिल्ला समन्वय समिति इलामले यस परियोजनाको कार्यान्वयन गरेको भारतीय दूतावासले जनाएको छ ।
नवनिर्मित संरचनाले विद्यार्थीको सिकाइ वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको भन्दै दूतावासले शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयास पूरा गर्न सहयोगी भएकोमा खुसी व्यक्त गरेको छ ।सभार – नयाँ पत्रिका



