नेपाली नागरिकलाई अस्थायी क्वारेन्टाइनमा राखिएको छ
बाँकेका विभिन्न सीमा नाकामा अलपत्र परेका नेपाली नागरिकलाई बिहीबार ‘अस्थायी क्वारेन्टाइन’मा राखिएको छ। बाँके प्रशासनले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकामा एक साता अघिदेखि आवत–जावतमा पुर्णरुपले रोक लगाएको थियो।
नेपालगन्ज नाकामा रोक लगाएपछि विभिन्न अबैध नाकाबाट नेपाल प्रवेश हुन खोजेका उनीहरुलाई फर्काएर भारतीय क्वारेन्टाइनमा लैजाने प्रयास असफल भएपछि जयसपुरस्थित नेपाल–भारत सिमा नाका दसगजा छेउमै अस्थायी क्वारेन्टाइन स्थापना गरेर राखिएको हो।
जिल्लाको जयसपुर, हिरमिनिया, साईगाउँ लगायत अबैध नाकाबाट प्रवेश हुन खोजेका एक १ सय ८१ जनालाई चारदिन पछि बिहीबार दिउँसोबाट अस्थायी क्वारेन्टाइनमा राखिएको हो। यि मध्ये अशक्त, महिला र बालबालिका गरी ९ जनालाई भने यसअघि नै स्थानीय महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनामा राखिएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार नेपाली सेनाले उपलब्ध गराएको टेन्टबाट ४५ वटा ‘अस्थायी घर’ निर्माण गरिएको छ। अलपत्र नेपाली नागरिकले भारतको क्वारेन्टाइनमा नबस्ने अडान लिएपछि स्थानीय प्रशासनको अगुवाईमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले एकैदिनमा क्वारेन्टाइन तयार गरेका हुन्। ‘क्वारेन्टाइन निर्माण भएर पनि सिमामा रहेका नेपालीलाई ल्याएर राखिसक्यौं,’ प्रजिअ खड्काले नागरिकसँग भने ‘उनीहरु लकडाउन अवधिभर त बस्छन् नै, कम्तिमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नेछन्।’ एउटा घरमा ३ देखी ४ जनासम्म बस्ने मिल्ने गरी ब्यवस्थापन गरिएको उनले बताए।



