मुस्लिम समुदायको धार्मिक भेला तबलिकी जमातबाट आएकामध्ये ५२ जनालाई सुरक्षाकर्मीले क्वारेन्टाइनमा

भारतको राजधानी नयाँदिल्लीमा आयोजित मुस्लिम समुदायको धार्मिक भेला तबलिकी जमातबाट आएकामध्ये ५२ जनालाई सुरक्षाकर्मीले क्वारेन्टाइनमा पठाएको छ ।

तीमध्ये शंकास्पद ८ जनाको घाँटीको स्वाबको नमुना लिएर बिहीबार परीक्षणका लागि पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।निजामुद्दिन मस्जिदमा आयोजित तबलिकी जमातका सहभागीहरुमा कोरोनाको संक्रमण देखिएको र नेपाली नागरिक पनि त्यसमा सहभागी भएको पुष्टि भएपछि परराष्ट्र मन्त्रालयको सहयोगमा नेपाल प्रहरीले खोजी कार्य अघि बढाएको थियो।स्थानीय प्रशासनको आग्रहलाई बेवास्ता गर्दे भेलामा सहभागीहरु क्वारेन्टाइनमा नगएपछि बुधबार नै राजविराजलगायत विभिन्न स्थानबाट प्रहरीले उनीहरुको पहिचान गरी नियन्त्रणमा लिएको थियो।जिल्ला जनस्वास्थ्य प्रमुख यादवका अनुसार सप्तरीको बैरवास्थित क्वारेन्टाइनमा १७ जना, राजविराजमा ७ जना, तिलाठी कोइलाडीमा ८ जना, डाकनेश्वरीमा ५ जना, हनुमाननगरमा ८ जना र बोदेबरसाइनमा ७ जनालाई राखिएको छ। जमातबाट आएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ। भेलामा नेपालबाट सहभागी हुनेको संख्या यकिन नभए पनि ३३ जना नेपाली नागरिकलाई भने दिल्लीमै क्वारेन्टाइनमा राखिएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ। उनीहरुको स्वास्थ्य परीक्षण पनि भएको तर रिपोर्ट भने आइनसकेको पनि दूतावासले जानकारी दिएको छ। भेलामा केही उतै बस्ने विद्यार्थी र केही नेपालबाट पनि सहभागी भएको बताइएको छ। धार्मिक भेलामा नेपालबाट कति गएका थिए भन्नेचाहिँ यकिन भएको छैन।सभार ई कान्तिपुर