सशस्त्र बल र नेपाल प्रहरी द्वारा भारतीय सीमा क्षेत्र सिल गर्न थप चेकप्वाइन्ट स्थापना

सरकारले लकडाउनको अवधि बढाएसँगै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले भारतीय सीमा क्षेत्र सिल गर्न थप चेकप्वाइन्ट स्थापना गर्नुका साथै सुरक्षाकर्मीको संख्या बढाएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दक्षिणतर्फको सीमा नाका अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेसँगै उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।
यसअघि दुवै सुरक्षा निकायबाट करिब ५ हजार फौज खटिएका थिए। अहिले यो संख्या १० हजार नाघेको छ। सशस्त्र प्रहरीले १ हजार १ सय ४६ चेकप्वाइन्ट स्थापना गरी सुरक्षाकर्मी खटाएको छ। नेपाल प्रहरीले सीमा नाकाबाट ४ सय ५० स्थानमा फौज तैनाथ गराएको छ। सशस्त्रले लकडाउनअघि १ सय २० बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) मार्फत १२ देखि १५ किलोमिटरको दूरीमा चेकप्वाइन्ट खडा गरेको थियो तर कोरोना संक्रमण फैलिन नदिन भारतीय सीमा सिल गर्ने सरकारको निर्णयसँगै एउटा चेकप्वाइन्टबाट अर्को चेकप्वाइन्टको दूरी डेढ किलोमिटरमा सीमित गरिएको छ।



