बढैयातालका बिपन्न तथा एससी परिवारका लागि ११ लाख बराबरको राहत बितरण गरिँदै

बढैयाताल–४, चैत्र
बर्दियाको बढैयाताल गाउँपालिमा लकडाउनका कारण जीवन गुजारा गर्न गाह्रो भएकाहरुका लागि राहत बितरण शुरु भएको छ । गाउँपालिकाको सहकार्यमा प्लान इन्टरनेशनल नेपालको सहयोगमार्फत गेरुवा ग्रामीण जागरण जंघ बर्दियाले गाउँपालिका दुई वटा वडामा बिहीबारदेखि राहत बितरण शुरु गरेको छ । प्लानले बिगतमा सहयोग गर्दै आएको बिपन्न परिवार (प्लान प्रत्याभूत परिवार) तथा अन्य बिपन्न परिवारलाई राहत स्वारुप नगद रकम बितरण गर्न थालिएको हो । बिहिबार मात्रै वडा नं.–७ का १ सय १८ घरधुरीलाई राहत बितरण गरिएको छ । राहत पाउने बिपन्न परिवारको नामावली वडा कार्यालयले संकलन गरेअनुसार परिवार र प्लानको एससी परिवारलाई राहत बितरण गरिने छ । गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठ, उपप्रमुख दिपा कुमारी गौतम र वडा नं.–७ का अध्यक्ष इन्द्र प्रसाद लुईटेलको उपस्थितिमा बिहिबारबाट राहत बितरण शुरु भएको हो । गाउँपालिकाको वडा नं.–७ र ९ का ३ सय ९७ घरधुरीलाई राहत प्रदान गरिने गेरुवाका कार्यक्रम संयोजक रामरुप कौशलले जानकारी दिनुभयो । लकडाउनका कारण खाद्यान्नको अभाव, आर्थिक रुपमा असक्षम हुँदै जाँदा जीवन निर्वाह गर्न समस्या भएकाले बिपन्नहरुको पहिचान गरी त्यस्तालाई राहत स्वारुप प्रति परिवार (घरधुरी) रु २ हजार ७ सय ३० का दरले बितरण गर्न लागिएको छ । प्लान इन्टरनेशनल नेपालले बिगतमा एससी परिवार भनेर गाउँपालिका यी दुई वडामा काम गर्दै आएको र कार्यक्षेत्र भएकाले अन्य ठाउँभन्दा यहाँ ती एससी परिवार र बिपन्नलाई सहयोग स्वारुप राहत बितरण शुरु जनाइएको छ । वडा नं.–७ का २ सय ४५ घरधुरी र वडा नंं–९ का १ सय ५२ घरधुरीलाई करिब ११ लाख रकम राहत स्वारुप प्रदान गरिने गेरुवाका अध्यक्ष कृष्णजंग शाहले जानकारी दिनुभयो । राहत बितरण गर्दा कोरोना भाइरस नियन्त्रणका उपाय सामाजिक दुरी कायम गरिएको थियो ।