सहज विद्युत आपूर्तिका लागि कोहलपुरका प्रमुख फिल्डमा

कोरोनाबाट बच्न घरमै बस्नुपर्ने सुझाइएको बेला सहज विद्युत आपूर्तिका लागि नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख भने फिल्डमा पनि आफैँ खटिने गरेकाछन्। अत्यावश्यक सेवाअन्तरगत रहेको विद्युत सेवा नियमित आपूर्तिका लागि आफ्नो क्षेत्रमा नेविप्रा कोहलपुर वितरण केन्द्र प्रमुख रुमेश रुपाखेतीले कार्यलीय अन्य काम होस् या फिल्डको काममा पनि त्यसरी आफैँ लागिपरेर सहज सेवाप्रवाहका लागि खटिएका हुन्। कोरोना नियन्त्रणका लागि एकातिर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तल्लीन छन् भने अर्कोतर्फ घरमै बसीरहेका जनतालाई नियमित विद्युत सेवा पुर्याउन नेपाल विद्युत प्राधिकरणको भुमिका पनि उत्तिकै मह्त्वपुर्ण छ। त्यसैक्रममा सामाजिक दुरी कायम राख्दै वितरण केन्द्र प्रमुख रुपाखेतीले अत्यावश्यक जनशक्तिलाई मात्र परिचालित गर्दै टी.ओ.डी. मिटर रिडिङ्गमा सम्बद्ध कर्मचारीलाई पनि सघाउने, महसुल रकम भुक्तानीमा अन्य निकाय बीच समन्वय गर्ने , ग्राहकको गुनासो तत्काल समाधान गर्ने देखि लिएर फिल्डमा गएर आफैँ ट्रान्सर्फमर लोड ब्यालेन्स, लाइन मर्मत लगायतका काममा पनि धेरैजसो आफैँ सहभागी हुनेगरेको कर्मचारीहरु बताउछन्। सोमबार पनि वितरण केन्द्र प्रमुख रुपाखेती आफ्नो प्राविधिक टोलीसहित फिल्डमै खटिएका थिए। कोहलपुर-५, प्रगतिनगरमा उत्पन्न विद्युतीय समस्याबारे वितरण केन्द्र प्रमुख रुपाखेतीले आफैँ गएर समाधान गराएका कार्यस्थलमै भेटिएका थिए। उता,सो वितरण केन्द्रले सेवामा खटिएका कर्मचारीहरुका लागि स्वास्थ्य सुरक्षा सामाग्रीको यथासक्य उपलब्धता गराएकोमा कर्मचारीपनि उत्साही रहेको सम्बद्धहरुले बताएका छन्। यसरी कार्यालय प्रमुख आफैँ खटिएर काम गर्दा हामी कर्मचारीहरुको पनि हौसला बढेको बताउदै गम्भीर समयमा जिम्मेवार अभिभावकत्व पाएकोमा कर्मचारी राजेन्द्र कुमार थापाले खुसी व्यक्त गर्नुभयो।

गत साउनदेखि कोहलपुर वितरण केन्द्रको नेतृत्व सम्हालेका प्रमुख रुपाखेतीले ग्राहस्थतर्फको मिटर रिडिङ्गतर्फ मेसिनपद्धति लागू गराएको, गुनासो सुनुवाइमा तदारुकता ल्याइएको , सेवाप्रवाहमा छिटोछरितोपन तथा सुधार आएको बुझिएकोछ। लकडाउनको समय र संक्रमणको बढ्दो जोखिमका बेला फिल्डमा स्वयम् खटिएर काम गराउदै भेटिएका प्रमुख रुपाखेतीले आफू पनि एउटा कर्मचारी रहेको उल्लेख गर्दै यतिबेला सहज सेवा पुर्याउनु पहिलो कर्तव्य भएकोले जोखिमभन्दा जिम्मेवारी ठूलो रहेको बताउनुभयो। नियमित विद्युत आपूर्तिले लकडाउनमा घरै बस्नुपरेका जनतालाई केहि हदसम्म भएपनि समय बिताउन राहत हुने विश्वास लिइएकोछ।



