बारा र पर्साका क्वारेन्टाइनमा रहेका थप तीनजनामा कोरोना संक्रमण पुष्टि

न्यूज एजेन्सी वीरगन्ज — बारा र पर्साका क्वारेन्टाइनमा रहेका थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल स्रोतका अनुसार जीतपुर सिमरा उपमहानगरपालिकाका २ जना र वीरगन्ज महानगरपालिका २ छपकैयाका एकजनामा कोभिड १९ पुष्टि भएको हो । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालाबाट अस्पताल प्रशासनलाई यसबारेमा जानकारी आइसकेको छ ।

२ जनालाई सिमराको क्वारेन्टाइन र एकजनालाई वीरगन्जको सिद्धार्थ माविको क्वारेन्टाइनबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याउने तैयारी भइरहेको छ ।गत आइतबार वीरगन्ज–३ का एक र वडा १६ इनर्वाका एक स्थानीयमा कोरोना पोजेटिभ पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा जीतपुरका दुईजना र वीरगन्जका एक जनालाई क्वारेन्टाइनमा राखिएको थियो । स्वाब संकलन गरि परीक्षणका लागि टेकुको प्रयोगशाला पठाइएको थियो ।



