७ कार्तिक २०८१, बुधबार

बाँकेको नरैनापुर गाउँपालिकाको एक क्वारेन्टाइनमा २५ बर्षीय युवकको मृत्यु

एसीपी संवाददाता

४ जेष्ठ २०७७, आईतवार ०४:५७ मा प्रकाशित

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाको एक क्वारेन्टाइनमा बसेका २५ बर्षीय युवकको मृत्यु भएको छ । बैशाख ३० गते भारतको मुम्बईबाट आएर वडा नम्बर ५ भगवानपुरस्थित दिपेन्द्र प्राविमा बनाइएको क्वारेन्टाइनमा बसेका वडा नम्बर ५ नयाँ बस्तीका ती युवकको आज विहान पौने ७ बजेतिर मृत्यु भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो । उनीसहित त्यस क्वारेन्टाइनमा बसेका ३९ जनाको हिजो स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याइएको छ ।

रिपोर्टपछि मात्रै मृत्युको कारण थाहा हुने स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले बताउनुभयो । उहाँका अनुसार ती युवाले राति एक्कासी उल्टी गरेका थिए । विहान एम्बुलेन्स आउँदा आउँदै उनको मृत्यु भएको शाहले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको स्वाब भेरी अस्पतालमा परिक्षणकै क्रममा रहेकाले रिपोर्ट आएपछि मात्र मृत्युको कारण एकिन हुने बताउनुभयो । नेपालगञ्जबाट स्वास्थ्य र सुरक्षाको टोली नरैनापुर गएको छ ।

यसअघि उक्त क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना देखिएको थियो । उनीहरुको दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x