कोरोना रोकथाममा सरकार असफल भएको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र

कोरोना रोकथाममा सरकार असफल भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रमुख सचेतक बालकृष्ण खाँड, सहमहामन्त्री डा.प्रकाशरण महत, पूर्वउपसभापति गोपालमान श्रेष्ठ र केन्द्रीय सदस्य रमेश लेखक कांग्रेसको प्रतिनिधिमण्डलको रुपमा बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । कोभिड १९ को महामारी नियन्त्रण गर्न सरकारले सम्बोधन गर्नुपर्ने विषयका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिनुभयो । कोभिड १९ को महामारी नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कार्य, अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्ने विषय समेत ध्यानाकर्षण गराइएको उहाँले जानकारी दिनुभयो । नेपालमा कोरोना संक्रमण देखिएको साढे चार महिना भएको तथा लकडाउन गरिएको पनि ७९ दिन पूरा भइसकेपनि सरकारले आवश्यक सामग्री किटको व्यवस्था गर्न नसकेको,स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई सुरक्षाका आवश्यक सामान उपलब्ध गराउन नसकेको, क्वारेन्टाइनको व्यवस्थापन हुन नसकेको लगाएतका बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको लेखकले बताउनुभयो । त्यस्तै आइसोलेसन सेन्टरको उचित व्यवस्थापन तथा राहतको उचित प्रबन्ध गर्न, किसानलाई सहयोग गर्न, आवश्यक रोजगारीको प्रबन्ध गर्न, उद्यमी व्यवसायीलाई उचित आर्थिक प्याकेजको व्यवस्थ ागर्न आग्रह गरिएको उहाँले बताउनुभयो । ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफूले दिएको सुझावलाई गम्भिरतापूर्वक लिने आश्वासन दिनुभएको उहाँले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाइ बुझाएको ज्ञापनपत्र
जेठ २८, २०७७
सम्माननीय प्रधानमन्त्री ज्यू
नेपाल सरकार ।
विषय : ध्यानाकर्षण सम्बन्धमा ।
महोदय,
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०७७ साल जेठ २६ गते पार्टी सभापति मा.on शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नेपालमा कोभिड १९ को महामारी, त्यसबाट उत्पन्न परिस्थिति, तत्कालिन एवं दीर्घकालिन प्रभाव र नेपाल सरकारको भूमिका र तत्काल गर्नु पर्ने कार्य बारे गहन छलफल गरि महत्वपूर्ण निर्णयहरु गरेको छ । सोहि बैठकको निर्णय अनुसार नेपाल सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।
१- नेपालमा २०७६ साल माघ ९ गते कोभिड १९ को पहिलो संक्रमित व्यक्ति फेला परेको हो । सरकारी तथ्याङ्क अनुसार आज सम्म नेपालमा कोभिड १९ को कारण १५ (पन्ध्र) जना नेपालीको मृत्यु भैसकेको छ । देशभरिमा ४,०८५ (चार हजार पचासी) जना संक्रमित छन् । १,६५,७७५ (एक लाख पैसठ्ठी हजार सात हजार पचहत्तर) मानिस क्वारेन्टीनमा छन । कोभिड १९ कै कारणले उत्पन्न परिस्थितिमा कैयन नागरिकहरुले अन्य रोग, भोक, मानसिक तनावले जीवन गुमाइसकेका छन् । नेपाल बाहिर पनि विदेशमा विभिन्न मुलुकमा नेपाली नागरिको मृत्यु भएका र संक्रमित भएका छन । कोभिड १९ को संक्रमणबाट ज्यान गुमाउनु हुने सबै नेपाली दाजुभाइ–दिदिबहिनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ । संक्रमित सबैमा शिघ्र स्वास्थलाभको कामना गर्दछौ ।
२- हाम्रो पार्टीको आब्हानमा नेपाली कांग्रेसका नेता, पार्टी सदस्य, भातृ एवं शुभेच्छुक संस्थाका साथी तथा सबै शुभेच्छुकहरु देशभरिनै आ–आफ्ना ठाँउबाट कोभिड १९ विरुद्धको लडाईमा क्रियाशिलतापूर्वक काम गरिरहेका छन । विदेशमा पनि नेपाली जनसम्पर्क समिति र अन्य शुभेच्छुक साथीहरु जोखिम मोल्दै अहोरात्र खटिई काम गरिरहेका छन । यो कार्य निरन्तर जारी रहने छ ।
३- नेपाली कांग्रेसले प्रारम्भ देखिनै कोभिड १९ को जोखिम, यसबाट उत्पन्न हुने तत्कालिन एवं दीर्घकालिन नकारात्मक प्रभाव, यस विपद्वाट उत्पन्न समस्यालाई न्यूनिकरण गर्ने र देश र जनतालाई जोगाउने उपाय बारे सुक्ष्म रुपले अध्ययन र विश्लेषण गर्दै कोभिड १९ विरुद्धको लडाईमा सरकार लगाायत सबैलाई सदैव साथ सहयोग दिने र सबै नेपाली एकताबद्ध भई यो विपद्का विरुद्धमा लड्ने हाम्रो प्रतिवद्धता रहि आएको छ ।



